कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’को नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’मा अभिनेता आशीर्वाद क्षेत्री अनुबन्धित भएका छन्।
निर्माण पक्षले बुधबार आशीर्वादलाई चलचित्रको मुख्य भूमिकाका लागि भित्र्याएको जानकारी दिएको छ। यसअघि नै मोडल तथा चर्चित इन्फ्लुएन्सर प्रशंसा रायमाझी यसै चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गर्ने घोषणा भइसकेको छ।
चलचित्रको औपचारिक घोषणा नयाँ वर्ष ०८३ को अवसर पारेर गरिएको थियो। दीपकप्रसाद आचार्यको निर्देशन रहने यस चलचित्रको कथा कुमार कट्टेलले तयार पारेका हुन्। चलचित्रमा सविन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको छ।
सामाजिक ड्रामा जनरामा निर्माण हुने ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबिचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाएको छ। उमेशकुमार बराल निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माताका रूपमा कुमार कट्टेल र सैलेश खत्री छन्।
‘चिरञ्जीवी भवः’ दीपकप्रसाद आचार्यको दोस्रो निर्देशकीय सिनेमा हुनेछ। यसअघि उनले निर्देशन गरेको चलचित्र ‘परान’ ०८२ सालको सर्वाधिक कमाउने फिल्म बनेको थियो। कुमार कट्टेलको निर्देशन र अभिनय रहेको ‘लाज शरणम्’ले पनि व्यावसायिक रूपमा राम्रो सफलता हासिल गरेको थियो।