महाकाली नदीमा एक सातामै फेरि अर्का युवक पनि बेपत्ता भएका छन् । एक साताअघि बेपत्ता भएका युवक फेला नपर्दै अर्का युवक पनि बेपत्ता भएका हुन् ।
१ वैशाखमा ४५ वर्षीय प्रकाशबहादुर सिंह बेपत्ता भएको अर्को साता २५ वर्षीय मनीष कुँवर बेपत्ता भएका छन् ।
मंगलबार साथीभाइसँग पौडी खेल्न गएका कुँवर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
कञ्चनपुरका प्रहरी प्रवक्ता हेमबहादुर शाहीले साथीभाइसँगै पौडी खेल्न गएका कुँवर डुबेर बेपत्ता भएको बताए । बेपत्ता कुँवरको खोजीका लागि प्रहरी, सशस्त्र प्रहरीदेखि स्थानीय खटिएका छन् । सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत कुँवर बेपत्ता भएसँगै साथीभाइ, घरपरिवार र आफन्त शोकमा डुबेका छन् ।
हरेक वर्ष महाकाली नदीमा दाउरा, माछा मार्नेदेखि पौडी खेल्ने क्रममा डुबेर बेपत्ता हुनेको संख्या वृद्धि भइरहेको छ ।