गर्भपतन सेवा लिने क्रममा महिलाको मृत्यु, प्रहरीमा किटानी जाहेरी

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण

गर्भपतन सेवा लिन विभिन्न स्वास्थ्य संस्थामा धाउँदा–धाउँदै एक महिलाको मृत्यु भएपछि सेवा दिँदा स्वास्थ्यकर्मीहरूले लापरबाही गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ। पाल्पा बगनासकाली गाउँपालिका– २ की गीता पाण्डे गर्भ जाँचका क्रममा बुटवलमा आएकी थिइन्। श्रीमानसहित बुटवल इँटाभट्टीमा रहेको खत्री नर्सिङ होममा २७ चैतमा आएकी उनी डाक्टरको सल्लाहअनुसार वैशाख ४ मा पुनः आएकी थिइन् । तर, त्यस दिन चेकजाँच नभएपछि ५ गते श्रीमानसहित आएकी थिइन् । गर्भ जाँच गर्दा गर्भ असामान्य भएको भन्दै गर्भपतन गर्न सल्लाह पाएपछि  सेवा लिन नर्सिङ होम र क्लिनिक धाउँदा–धाउँदै उनको ज्यान गएको छ ।

करिब १२ हप्ताको गर्भपतन सेवामा स्वास्थ्यकर्मीहरूले लापरबाही गरेको पीडित पक्षले बताएका छन् । गीताका श्रीमान् प्रकाश पाण्डेका अनुसार खत्री नर्सिङ होमका डा. डिबी खत्रीले गर्भ असामान्य भएको बताउँदै ४ वैशाखका लागि बोलाएका थिए। गीता ५ वैशाखमा खत्री नर्सिङ होम गइन् । नर्सिङ होमले लोकेसन म्यापसहित बुटवल अस्पताल लाइनको जोनल फार्मेसी क्लिनिकमा पठाएको पाण्डेको भनाइ छ  ।

जोनलबाट इन्दु लेखा क्लिनिकमा पुर्याई गर्भपतन गराउने क्रममा गीताको मृत्यु भएको प्रकाशले जानकारी दिए । इन्दु लेखा क्लिनिकमा डा. सतिश रुपाखेतीले चेकजाँच गरेको उनले बताए । गीताका श्रीमान् प्रकाशले श्रीमती बेहोस भइसकेपछि लुम्बिनी सिटी अस्पतालको इमर्जेन्सी कक्षमा लैजाँदा डाक्टरले मृत घोषित गरेको बताए । श्रीमतीको मृत्युलाई श्रीमान् प्रकाशले उपचारमा चरम लापरबाही भन्दै डा. डिबी खत्री र डा. सतिश रुपाखेतीसहित स्वास्थ्य संस्थाका सञ्चालकहरूविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।

सन्ध्या बस्नेत (जोनल फार्मेसी–क्लिनिक सञ्चालक), निलम घर्ती मगर (जोनल फार्मेसी), खगेन्द्रप्रसाद पाण्डे (इन्दु लेखा स्वास्थ्य क्लिनिक सञ्चालक) लाई पनि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएको उनले बताए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी निशान्त श्रीवास्तवले  तीनजनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताए । उनका अनुसार सन्ध्या बस्नेत, निलम घर्तीमगर र खगेन्द्र पाण्डेलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ । मृतकका आफन्तहरू खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दु लेखा क्लिनिकमा तालाबन्दी गरेर विरोधमा उत्रिएका छन् । 

See More On

सुझावित समाचार