अघि बढ्यो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष भुवनकुमार दाहाल सदस्य रहेका छन् ।

तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले गत शुक्रबार पदबाट राजीनामा दिएका थिए । भ्रष्टाचार र अनियमितताको आरोप लागेका श्रेष्ठले सरकारले हटाउन सक्ने संकेत पाएपछि राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि रिक्त पदपूर्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चारकर्मीलाई जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य तथ सदस्यमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा. तिमिल्सिनाले जानकारी दिए । 

सुझावित समाचार