बागलुङ नगरपालिका– ७ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । नवनिर्मित भवनको नगरप्रमुख वसन्तकुमार श्रेष्ठ र उपप्रमुख राजु खड्काले संयुक्त रूपमा उद्घघाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले विगतमा सानो कोठाबाट सीमित स्रोत–साधनबिच सेवा प्रदान गर्नुपर्ने अवस्थाबाट गुज्रिएको वडाले आज आफ्नै व्यवस्थित भवनबाट सेवा दिन पाउनु ठुलो उपलब्धि भएको बताए ।
उनले स्थानीय सरकार गठनपछि पूर्वाधार विकासले गति लिएको उल्लेख गर्दै जनतालाई सहज, छिटो र प्रभावकारी सेवा प्रवाह गर्न भौतिक संरचना महत्त्वपूर्ण आधार भएको धारणा व्यक्त गरे । श्रेष्ठले आगामी दिनमा प्रविधिमैत्री सेवा विस्तार, सुशासन प्रवर्द्धन र जनताको प्रत्यक्ष सहभागितामा विकास निर्माणलाई अघि बढाइने बताए। कार्यक्रममा उपप्रमुख राजु खड्काले स्थानीय तहको सुदृढीकरणका लागि भौतिक पूर्वाधारसँगै जनशक्ति र व्यवस्थापन पक्ष पनि उत्तिकै महत्त्वपूर्ण हुने उल्लेख गर्दै नयाँ भवनले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
पहिलो चरणमा २५ लाख र दोस्रो चरणमा १५ लाख गरी कुल ४० लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवनको निर्माण कार्य गत वर्ष नै सम्पन्न भएको वडाध्यक्ष मेघनाथ शर्मा गैरेले जानकारी दिए । शर्माका अनुसार भवन निर्माणसँगै वडावासीलाई सेवा लिन सहज भएको र कर्मचारीहरूलाई पनि व्यवस्थित वातावरणमा काम गर्न पाउने अवस्था सिर्जना भएको छ।
नवनिर्मित भवनमा सेवा कक्ष, बैठक कक्ष तथा आवश्यक प्रशासनिक संरचना समावेश गरिएको छ। यसले सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने अपेक्षा रहेको वडाध्यक्ष गैरेले जानकारी दिए। उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।