- सम्पत्ति शुद्धीकरणमा मुछिएका दीपक भट्टको अनियमिततामा सहयोग गरेपछि निलम्बन गर्ने चेतावनीसहित प्राधिकरणले सोध्यो स्पष्टीकरण
विवादास्पद व्यवसायी दीपक भट्टको अनियमिततामा सहयोग र कम्पनीको रकम दुरुपयोग गरेको भन्दै नेपाल बिमा प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्सका सञ्चालक समिति र उच्च व्यवस्थापकलाई निलम्बनको चेतावनीसहित स्पष्टीकरण सोधेको छ । प्राधिकरणले गत मंगलबार सञ्चालक समितिका सदस्य र उच्च व्यवस्थापन तहका कर्मचारीलाई सात दिनको समय दिएर स्पष्टीकरण सोधेको हो ।
उनीहरूले पेस गर्ने जवाफका आधारमा उचित निर्णय लिने तयारीमा प्राधिकरण रहेको छ । उनीहरूले जवाफ पेस गरेपछि प्राधिकरण सञ्चालक समितिले अध्ययन गरेर सम्भवतः निलम्बनको निर्णय लिने स्रोतको भनाइ छ । प्राधिकरणका निर्देशक साम्भराज लामिछानेले हिमालयन रिका सञ्चालक र व्यवस्थापकलाई सातदिने स्पष्टीकरण सोधेको जानकारी दिए । जवाफ प्राप्त भएपछि बोर्डले यसबारे उचित निर्णय गर्ने उनको भनाइ छ ।
व्यवस्थापनतर्फ प्रमुख कार्यकारी अधिकृत (सिइओ) उपास्ना पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मुकेशकुमार कपुर तथा कार्यकारी निर्देशकहरू मनीष कुमार, शिशिर गैरे र सन्तोष केसीलाई स्पष्टीकरण सोधिएको छ ।
यसैगरी, सञ्चालक समिति सदस्यहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल र सुवास झुनझुनवालालाई पनि स्पष्टीकरण सोधिएको छ । दुई साताअघि सञ्चालक समितिबाट बाहिरिएको साहिल अग्रवाल र रोहित गुप्तालाई पनि स्पष्टीकरण सोधिएको प्राधिकरण स्रोतको भनाइ छ । प्राधिकरणको कारबाहीको डरमा उनीहरूले स्पष्टीकरण नसोध्दै राजीनामा दिएका थिए । उनीहरूको ठाउँमा दीपेन्द्रकुमार मिश्र र पृथ्वीराज थापालाई नियुक्ति गरिएको छ । त्यस्तै, कम्पनीको अध्यक्षमा उदयकुमार निरौला चयन गरिएको छ । हिल्टनको पुनर्बिमा दाबी प्रकरणमा समेत अनुसन्धानमा पर्ने देखिए कम्पनीका अध्यक्ष शेखर गोल्छाले पनि गत ८ चैतमा राजीनामा दिएका थिए ।
प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारण विभागको पत्रका आधारमा गरेको अनुसन्धानमा हिमालयन रिका आधारभूत सेयरधनी दीपक भट्टले कम्पनीको रकम दुरुपयोग गरेको देखिएको छ । त्यसमा कम्पनीका सञ्चालक र उच्च व्यवस्थापनले सहयोग गरेको देखिएको छ । कम्पनीको लगानीमा भएको सेयर बिक्री गरेर पनि लामो समयसम्म भुक्तानी लिन ताकेता नगरेको र सो रकम भट्टले प्रयोग गरेको देखिएको छ । यस्ता अनियमिततामा सहयोग गरेको भन्दै प्राधिकरणले निलम्बन गर्ने चेतावनीसहित सञ्चालक र व्यवस्थापकलाई स्पष्टीकरण सोधेको छ । व्यवसायी भट्टलाई भने यसअघि नै सम्पत्ति शुद्धीकरणको कसुरमा कारबाही गर्न सम्पत्ति शुद्धीकरण विभागमा सिफारिस गरिएको थियो । सोही सिफारिसलगायतका आधारमा दीपक भट्ट सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका लागि हिरासतमा छन् । यससँगै जोडिएको मुद्दामा सञ्चालक समितिका पूर्वसदस्य साहिल अग्रवाल भने फरार छन् ।
हिमालयन रि हिल्टन होटेलको पुनर्बिमा दाबीको घोटालामा पनि विवादमा छ । हिल्टनको बिमा गरेको दी ओरियन्टल इन्स्योरेन्सले प्राधिकरणको निर्देशनविपरीत हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बिमा हिमालयन रिमा गरेको थियो । तर, जेन–जी आन्दोलनमा ध्वस्त भएको हिल्टनको दाबी परेपछि त्यसको पुनर्बिमा दाबी भने सरकारी स्वामित्वको नेपाल रिमा गरिएको थियो । यस सम्बन्धमा प्राधिकरणले हिमालयन रिलगायतका कम्पनीलाई कारबाही गरिसकेको छ । यही विवादबिच कम्पनीका अध्यक्ष शेखर गोल्छाले पनि राजीनामा दिएका थिए ।
मुख्यतः विवादास्पद व्यवसायी भट्टलाई सहयोग गरेको आरोपमा उनीहरूलाई स्पष्टीकरण सोधिएको हो । भट्ट हिमालयन रि–इन्स्योरेन्स कम्पनीका आधारभूत सेयरधनी हुन् । हिमालयन रिमा भट्टको इन्फिनिटी होल्डिङ्सको ४.५० प्रतिशत सेयर हिस्सा अर्थात् ४६ लाख ८० हजार कित्ता सेयर छ ।
गत २८ फागुनमा विभागले भट्टले हिमालयन रि–इन्स्योरेन्सलगायतका बिमा कम्पनीको रकम अनिमियता वा आर्थिक दुरुपयोग गरे–नगरेको सम्बन्धमा छानबिन गरी राय प्रतिक्रियासहितको प्रतिवेदन सात दिनभित्र पेस गर्न प्राधिकरणलाई अनुरोध गरेको थियो ।
भट्टले बिमा क्षेत्रको तीन अर्ब ८१ करोड ४६ लाख चार हजार रुपैयाँबराबरको रकम दुरुपयोग गरेको विभागको आशंका छ । भट्टले दोस्रो बजारबाट नेपाल रि–इन्स्योरेन्सलगायतका कम्पनीको सेयर किन्न विभिन्न मितिमा हिमालयन रिबाट दुई अर्ब ७३ करोड ३३ लाख १५ हजार, हिमालयन रिकै सहायक कम्पनी हिमालयन सेक्युरिटीजबाट २२ करोड १९ लाख ७१ हजार, नेपाल लाइफको सहायक कम्पनीबाट ३७ करोड, एचएलआई लार्ज क्याप फन्डबाट २५ करोड १४ लाख ८४ हजार र नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड १७ लाख ५२ हजार गरेर कुल तीन अर्ब ८१ करोड ४६ लाख चार हजार रुपैयाँ दुरुपयोग गरी भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नम्बर ५५) बाट सेयर खरिद गरी भुक्तानी गरेको देखिएको छ । त्यस सम्बन्धमा छानबिन गरेर राय प्रतिक्रियासहितको प्रतिवेदन विभागमा पठाउन भनी प्राधिकरणलाई पत्र पठाइएको थियो ।
प्राधिकरणले यसबारे छानबिन गरेर कारबाहीको सिफारिससहित प्रतिवेदन विभागलाई बुझाएको थियो । प्राधिकरणको छानबिनमा भट्टले अनियमितता गरेको देखिएको थियो । त्यसमा सहयोग गर्ने कर्मचारी र सञ्चालकलाई भने नियामकीय कारबाही गर्न लागिएको हो ।
‘छानबिनका क्रममा उहाँ (दीपक भट्ट)ले अनियमितता गरेको देखियो । त्यसपछि उहाँलाई आवश्यक कारबाही गर्न सिफारिस गर्दै सम्पत्ति शुद्धीकरण विभागमा प्रतिवेदन बुझाएका थियौँ,’ स्रोतले भन्यो, ‘त्यसमा सहयोग गर्ने सञ्चालक तथा कर्मचारीलाई भने नियामकीय कारबाही गर्न लागेका हौँ ।’
छानबिनका क्रममा हिमालयन रि–इन्स्योरेन्स कम्पनीले आफ्नो लगानीको विभिन्न सेयर बिक्री गरेको देखिन्छ । तर, सेयर बिक्रीबापत कम्पनीले पाउनुपर्ने भुक्तानी ब्रोकरबाट प्राप्ति भएको देखिन्न । त्यो भुक्तानी प्राप्तिका लागि कम्पनीबाट पनि ताकेता भएको देखिएन । कम्पनीले पाउनुपर्ने त्यो रकम भट्टले प्रयोग गरेको देखिएको छ । ‘हिमालयन रि पब्लिक कम्पनी हो । पब्लिक कम्पनीको पैसा यसरी दुरुपयोग गर्न पाइँदैन,’ स्रोतले भन्यो, ‘त्यसैले सञ्चालक र कर्मचारीलाई नियामकीय कारबाही गर्न लागेका हौँ ।’