विभागीय टोली त्रिभुवन आर्मीले अपराजित रहँदै प्रधाममन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि जित्यो । आर्मीले फाइनलमा सुदूरपश्चिममाथि पाँच विकेटको जित निकाली उपाधि हात पारेको हो । आठौँ संस्करणमा यसपटक कुल १० शतक बने । यसक्रममा सात ब्याट्सम्यानले शतकीय इनिङ्स खेल्न सफल भए । गण्डकीका अर्जुन कुमालले प्रतियोगितामै एउटा नयाँ रेकर्ड स्थापित गरे । सहभागी खेलाडीमध्ये कान्छा बनेका उनले दुई शतक जोडे । यसैगरी, एपिएफका आसिफ सेखले एकै खेलमा दोहोरो शतकीय इनिङ्स खेलेका थिए । उनले मधेशविरुद्ध २०८ रनको कीर्तिमानी प्रदर्शन गरेका थिए । आर्मीका विनोद भण्डारीले पनि दुई शतक खेले । आसिफ, विनोद र अर्जुनले समान दुई शतक लगाए । समग्रमा प्रधानमन्त्री कपमा सात खेलाडीले शतकीय इनिङ्स खेलेका थिए ।
१. आसिफ शेख (एपिएफ) : २ शतक, १ अर्धशतक, ४५७ रन
प्रधानमन्त्री कपमा एपिएफका आसिफ शेखले नौ खेलमा ४५७ रन जोडेका छन् । उनले प्रतियोगितामा दुई शतक तथा एक अर्धशतकीय इनिङ्स खेलेका थिए । यस क्रममा उनले एकपटक दोहोरो शतक तथा एकपटक शतक लगाए । एपिएफले अर्को सिजनको जय ट्रफीमा स्थान बनाउँदा उनको योगदान मुख्य रह्यो । उनले बागमतीविरुद्ध ११४ रन जोडेका आसिफले प्रधानमन्त्री कपमै इतिहास बनाउने क्रममा मधेशविरुद्ध २०८ रनको दोहोरो शतक जमाए । प्रधानमन्त्री कपमा एकै खेलमा दोहोरो शतक लगाउने उनी मात्र एक्ला ब्याट्सम्यान हुन् । मधेशसँगको खेलमा रिटायर्ड हुनुअघि उनले १४२ बलमा १५ चौका र १६ छक्का प्रहार गरेका थिए । उनले ९० बलमा ९ चौका र ६ छक्काको सहयोगमा शतक बनाए ।
२. विनोद भण्डारी (आर्मी) : २ शतक, १ अर्धशतक, ४०४ रन
यसपटक प्रधानमन्त्री कपमा सहभागीमध्ये सिनियर खेलाडी विनोदले असाधारण प्रदर्शन गरे । यसै प्रदर्शनका कारण उनले राष्ट्रिय टोलीमा पुनरागमनसमेत गरेका छन् । आर्मीलाई च्याम्पियन बनाउने क्रममा उनले १० खेलमा ४०४ रन जोडे । यो क्रममा उनले दुई शतक तथा एक अर्धशतकीय इनिङ्स खेले । प्रतियोगितामा उनले सुदूरपश्चिमविरुद्ध समूह चरणमा १०० रन तथा कोशीविरुद्ध १८९ रनको योगदान दिएका थिए । प्रधानमन्त्री कपमा समग्रमा उनले चार शतक जोडेका छन् । विनोदले आफ्नो प्रधानमन्त्री कपको करिअरमा सर्वाधिक १८९ रन बनाउँदा १५० बलमा २१ चौका र पाँच छक्का प्रहार गरेका थिए ।
३. अर्जुन कुमाल (गण्डकी) : २ शतक, २ अर्धशतक, ५०४ रन
गण्डकी प्रदेशले प्रधानमन्त्री कपको शीर्ष ६ स्थान रक्षा गर्न नसके पनि युवा ब्याट्सम्यान अर्जुन कुमालले सनसनी प्रदर्शन गरे । प्रतियोगिताकै एकै संस्करणमा उनले पनि दुईपटक शतकीय इनिङ्स खेले । उनको पहिलो शतक कोशीविरुद्ध रह्यो । प्रतियोगितामा एक खेल पनि जित हात नपारेको कोशीविरुद्ध अर्जुनले १०२ रन बनाएका थिए ।
त्यसपछि महत्वपूर्ण खेलमा लुम्बिनीविरुद्ध उनले १०३ रन जोडेका थिए । यस खेलमा लुम्बिनीमाथि गण्डकीले आठ विकेटको जित निकाल्दा अर्जुनले १३० बलमा १०३ रन बनाए । जसमा १३ चौका र एक छक्का समावेश रह्यो । प्रतियोगिताकै सर्वाधिक रन बनाएपछि उनी पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् ।
४. बसिर अहमद (आर्मी) : १ शतक, ० अर्धशतक, २५२ रन
यसपटक आर्मीले अपराजित रहेर उपाधि जित्ने क्रममा मध्यक्रमका बसिरले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले मध्यक्रम कमजोर भएको अवस्थामा टोलीलाई सुदृढ अवस्थामा पुर्याए । फर्ममा रहेका बसिरले प्रतियोगितामा एक शतक इनिङ्स खेले । प्रधानमन्त्री कपको आर्मीको आफ्नो खेल नेपाल पुलिसविरुद्ध थियो ।
यो खेलमा बसिरले सय रन जोडेका थिए । पुलिसविरुद्धको कमजोर ब्याटिङमा बसिरले आक्रामक रूपमा ब्याटिङ गरी ८६ बलमा आठ चौका र दुई छक्का प्रहार गरी सय रन बनाउँदा आर्मीले सम्मानजनक योगफल बनायो । उनले फाइनलमा सुदूरपश्चिमविरुद्ध ४५ रन बनाए । यसैगरी, लिग चरणमा उनले कर्णालीसँगको खेलमा ४५ रन तथा मधेशविरुद्ध ४१ रन जोडेका थिए ।
५. रञ्जित खड्का (लुम्बिनी) : १ शतक, ० अर्धशतक, २१२ रन
लुम्बिनीले अर्को सिजनको जय ट्रफी क्रिकेट प्रतिययोगितामा स्थान पक्का गर्ने क्रममा ब्याट्सम्यान रञ्जितले ब्याटिङमा राम्रो प्रदर्शन गरेका थिए । उनले प्रतियोगिता एक शतकको सहयोगमा २१२ रन जोडेका थिए । नौ खेलमा आठ इनिङ्स ब्याटिङ गर्न अवसर पाएका उनले नेपाल पुलिसविरुद्ध १२८ बलमा १२८ रन बनाए । यसक्रममा उनले १३ चौका र तीन छक्का प्रहार गरे ।
६. शंकर राना (पुलिस) : १ शतक, ० अर्धशतक, २९० रन
पुलिस क्लबका नियमित ओपनर कुशल भुर्तेलको अभावमा बागमतीविरुद्ध शंकरले ओपनिङ गरेका थिए । ओपनिङ जिम्मेवारी पाएकै खेलमा उनले शतकीय इनिङ्स खेले ।
यस खेलमा उनले ११६ रन जोडे । १२८ बल सामना गरेका उनले १२ चौका र ३ छक्का प्रहार गरेका थिए । शंकरले अन्य खेलमा त्यति राम्रो प्रदर्शन गर्न सकेनन् । उनले मधेशसँगको खेलमा २७ रन बनाएका थिए । एपिएफसँगको महत्वपूर्ण खेलमा उनले ६१ रन जोडेका थिए ।
७. अर्जुन साउद (आर्मी) : १ शतक, ० अर्धशतक, १८५ रन
यसपटक प्रधानमन्त्री कपमा आर्मीको ब्याटिङ अन्य टोलीका तुलनामा बलियो देखिएको थियो । आर्मीका शीर्ष तथा मध्यक्रमका ब्याट्सम्यानले दमदार ब्याटिङ गरे ।
अर्जुनले प्रतियोगितामा एक शतकीय इनिङ्स खेलेका छन् । उनले वीरगन्जमा भएको खेलमा कर्णालीविरुद्ध १२१ रन जोडेका थिए । यो क्रममा उनले ६ चौका र ३ छक्का प्रहार गरेका थिए । उनले लुम्बिनीसँगको खेलमा २८ रन बनाए ।