देशको उत्तर–पश्चिमी सिमाना लिपुलेक, लिम्पियाधुराआसपास दुई देशका नागरिकहरू जब आमने–सामने हुन्छन्, त्यो बिर्सनलायक क्षण बन्ने गर्छ । दशकौँदेखि कचल्टिएको सीमा समस्याले दुवै देशका नागरिकहरूको सम्बन्धलाई नमिठो बनाइरहन्छ । समयले उनीहरूलाई कहिलेकाहीँ आपसमै भिड्नुपर्ने अवस्थामा समेत पुर्याइदिन्छ । नेपालको व्यास गाउँपालिका र भारतको गुन्जी ग्रामपञ्चायतमा पर्ने दोहोरो ठेगाना बोकेको यो हिमाली भूगोलबाट दक्षिण झर्दै गयो भने दुई नागरिकहरूको आपसी तिक्तता मर्दै जान्छ ।
पाँचथरको चिवाभन्ज्याङबाट सुरु भएको मध्यपहाडी लोकमार्ग अन्तिम विन्दु बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ । पारि उत्तराखण्ड, भारतको पिथौरागढ सहर छ । अंग्रेजहरूको ‘हिल स्टेसन’ सदाबहार गुलजार देखिन्छ । कुनै वेला डोटी राज्यको हिस्सा रहेको यो सहरको मध्यभागमा रहेको ‘गोर्खा किल्ला’मा बसेर गोर्खाली फौजले २५ वर्ष शासन गरेको थियो। पिथौरागढबाट दक्षिणमा उत्तराखण्डको चम्पावत जिल्ला छ । चम्पावतको लोहाघाट सहर हुँदै बनवासा पुग्न सकिन्छ ।
नेपालतर्फ लोहाघाटजस्तै भूगोलमा उस्तै हावापानी भएको डडेल्धुरा हुँदै तराईको धनगढी र महेन्द्रनगर पुगिन्छ ।
देशको बागडोर सम्हाल्ने सिंहदरबारले हेर्ने दृष्टिकोण पश्चिम सिमाना आइपुग्दा अस्ताउन आएको सूर्यजस्तै बने पनि पछिल्ला वर्षहरूमा महाकाली (शारदा) वरिपरिको सम्बन्धलाई दुई देशका सर्जकहरू सुमधुर बनाउने सुरमा छन् । पछिल्ला साहित्यक तथा सांस्कृतिक गतिविधिहरूलाई हेर्दा त्यसको झल्को पाउन सकिन्छ ।
नेपाल–भारतको सीमाक्षेत्रमा भइरहने साहित्यिक कार्यक्रम पछिल्लो समय बाक्लिँदै गएका छन् । २०८० साल जेठ दोस्रो साता डिलासैनी गाउँपालिकाले गोकुलेश्वरमा नेपाल–भारत अन्तर्राष्ट्रिय काव्य गोष्ठीको आयोजना गरेको थियो । चमेलिया नदीछेउको गोकुलेश्वरमा दुई देशका साहित्यकारहरूको जमघट दिग्गजहरूसँग नयाँ पुस्ताका भावना साट्ने चौतारी बन्यो ।
दुई देशका नागरिकस्तरको आपसी सम्बन्ध मजबुत बनाउने स्रष्टाहरूको प्रयासले कालापानीमा दुःखेको सम्बन्धलाई मलम लगाउने चेष्टा गरेको छ । नेपालको पश्चिम क्षेत्र र भारतको उत्तराखण्ड, हिमाञ्चलदेखि उत्तरप्रदेश, बिहार तथा दिल्लीसम्म भइरहने संयुक्त साहित्यिक–सांस्कृतिक जमघटहरू यसका उदाहरण हुन् । त्यसैको पछिल्लो शृंखलाको रूपमा कञ्चनपुरको दोधारा चाँदनीमा दुई देशका धुरन्धर प्रगतिशील साहित्यकारहरूको अन्तर्राष्ट्रिय साहित्यिक संगोष्ठीलाई लिन सकिन्छ ।
भारतको उत्तर प्रदेशस्थित लखनऊबाट नेपालगन्ज हुँदै कञ्चनपुरसम्म करिब चार सय किलोमिटरको दूरी छ । यही दूरी पार गर्दै पश्चिम बंगालका प्रगतिशील साहित्यकार तथा अखिल भारतीय प्रगतिशील लेखक संघ, राष्ट्रिय कार्यकारी परिषद्का अध्यक्ष प्रा.डा. सुरजबहादुर थापा गत साता कञ्चनपुरको दोधारा चाँदनी आइपुगे । यहाँ आयोजना गरिएको दुईदिने अन्तर्राष्ट्रिय साहित्यिक संगोष्ठीमा प्रगतिशील लेखक संघ नेपालका अध्यक्ष डा. देवी क्षेत्री दुलाललगायतले न्यानो स्वागत गरे । नेपाली भादगाउँले टोपी र खादा लगाएर भारतीय कवि, लेखकहरूलाई स्वागत गरेसँगै प्रलेसका महासचिव पारस ढकालले कार्यक्रमलाई अघि बढाए ।
वामपन्थी नेता एवं प्रगतिशील सर्जक प्रदीप ज्ञवाली ‘शीतविन्दु’ कार्यक्रमका प्रमुख अतिथि थिए । उनले दुई देशका साहित्यकारहरूलाई सम्बोधन गर्दै प्रगतिशील धारको साहित्यबारे समसामयिक टिप्पणी गरे । ज्ञवालीले समाजवादी आन्दोलन नै समस्याग्रस्त अवस्थामा रहेको र कलाको मूल्य बजारले लिलामी गरिरहेको बताए । ‘सर्जकहरूको अन्तर्राष्ट्रियस्तरको विमर्श राजनीतिक दलहरूलाई पनि प्रेरणा बन्नेछ,’ उनले भने ।
महाकालीपारिको दोधारा चाँदनीमा आयोजित संगोष्ठीमा दर्जनौँ प्राज्ञिक व्यक्तित्वहरूले समसामयिक प्रगतिवादी साहित्यको मन्थन गरे । तीनजना भारतीय वाम धारका लेखकहरूले विचारपत्र प्रस्तुत गरे । प्रलेसका पूर्वअध्यक्ष प्राडा। जीवेन्द्रदेव गिरीले अवधारणपत्र प्रस्तुत गरे । प्रगतिशील लेखक संघमा आबद्ध एक सय २२ जनामध्ये करिब दुई दर्जन भारतीय साहित्यकार थिए । उनीहरूमध्ये अधिकांश भारतका विभिन्न वाम साहित्यिक संस्थाहरूबाट प्रतिनिधित्व गरेर आएका थिए ।
भारतीय सर्जकहरूको विचारपत्र
जनवादी लेखक संघ, भारतका महासचिव हुन् मनोज कुमार सिंह । उनी विचारधाराबाट सञ्चालित साहित्य जनताको हितका लागि हुनुपर्ने धारणा राख्छन् । भारतमा ९० वर्षको इतिहास र नेपालमा ७३ वर्षअघिबाट संस्थागत भएको प्रगतिवादी साहित्यिक संगठनहरू एकआपसी सम्बन्धका लागि मात्र नभई साम्राज्यवाद र पुँजीवादविरुद्ध एकसाथ अघि बढ्नुपर्ने उनले बताए ।
पछिल्लो ८० वर्षयता हरेक देशको प्राकृतिक संसाधन कब्जा गर्न पुँजीवाद नांगो तरिकाले आइरहेको र वामपन्थी शक्तिहरू निसानामा परिरहेको उनको धारणा छ । दोस्रो वक्ताका रूपमा जनवादी लेखक संघ, भारतका अध्यक्ष प्राध्यापक नलिनरञ्जन सिंह थिए । ‘साहित्यले सत्ताको पछाडि होइन, राजनीतिलाई मसाल देखाउने काम गर्नुपर्छ’ भारतीय यथार्थवादी साहित्यका हस्ती मुन्सी प्रेम चन्दले ९० वर्ष पहिले भनेको कुरा स्मरण गर्दै अध्यक्ष सिंह आफ्नो अवधारणा पत्रमा भन्छन्, ‘साहित्य त्यो हो जसले बेचैनी पैदा गरोस्, सुन्दासुन्दै सुत्ने खालको नहोस् ।’
वामन्थीहरू रक्षात्मक बनेको तर्क गर्दै उनको गल्ती कहाँ भयो रु आत्मालोचना र आत्मावलोकन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले अक्टुबरमा आयोजना हुने कार्यक्रमका लागि हिन्दी र नेपाली साहित्य लेख्ने १० जना नेपाली कविहरूलाई लखनऊ आउन निमन्त्रणा गरे ।
लखनऊ विश्वविद्यालयका नेपाली मूलका प्राध्यापक डा। सुरजबहादुर थापा तेस्रो वक्ता थिए । यथार्थवादी धारका लेखक थापाले तेस्रोचोटि नेपाल आएको बताए । ‘मैले पश्चिम बंगालमा पढ्दा त्यहाँ वामपन्थीहरू सक्रिय थिए । पछि जेएनयू९जवाहरलाल विश्वविद्यालय०मा पिएचडी गरेँ । त्यसपछि लखनउ विश्वविद्यालयमा प्राध्यापन गर्न थालेँ’ थापाले लखनउमा काम सुरु गर्दाको अनुभव सुनाउँदै भने, ‘लखनउमा मैले अध्यापन सुरु गर्दा नेपालमा वामपन्थी आन्दोलन थियो। जेएनयू पढेको र नेपाली मूलको भनेर सबैले मलाई पक्का वामपन्थी हो भन्थे ।’
कार्यक्रममा भारतीय सर्जक विवेक बादल बाजपुरी, डा। उमाशंकर साहिल, डा. सत्यप्रकाश मिश्रका रसिला रचनाले सहभागीहरूलाई झुमायो । सुदूरपूर्वकी लेखकद्वय तिला लेकाली र सिर्जना सरोवरदेखि सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री तथा साहित्यकार राजेन्द्रसिंह रावलको सक्रिय सहभागिताले कार्यक्रममा ऊर्जा थप्ने काम गर्यो ।
दुई देशका साहित्यिक शृंखला
नेपाल–भारतको सीमाक्षेत्रमा भइरहने साहित्यिक कार्यक्रम पछिल्लो समय बाक्लिँदै गएका छन् । २०८० साल जेठ दोस्रो साता डिलासैनी गाउँपालिकाले गोकुलेश्वरले नेपाल–भारत अन्तर्राष्ट्रिय काव्य गोष्ठीको आयोजना गरेको थियो । चमेलिया नदीछेउको गोकुलेश्वरमा दुई देशका साहित्यकारको जमघट दिग्गजहरूसँग नयाँ पुस्ताका भावना साट्ने चौतारी बन्यो । भारतीय साहित्यकार डा। पीताम्बर अवस्थीदेखि बैतडीका पाका साहित्यकार पुरनसिंह दयालले साहित्यसँगै नदी सभ्यताबारे समेत चर्चा गरे । उक्त कार्यक्रमलाई दुई देशका सर्जकहरूको साक्षात्कार गर्ने साझा मञ्च बनाउने प्रयास गरेको युवा नेता तथा डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोष जोशीले बताए ।
गोकुलेश्वरमा आयोजना गरिएको कार्यक्रमलगत्तै २०८० पुसमा भारतको पिथौरागढमा उस्तै प्रकृतिको साहित्यिक कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा आयोजकले नेपाली पाहुनाहरूलाई हार्दिकतापूर्वक स्वागत र सत्कार गरे । कार्यक्रममा भारतीय सर्जकहरूका विभिन्न कृति मात्र विमोचन भएनन्, धनगढीका कैलाश कुमार पाण्डेयको कवितासंग्रह ‘एकलव्यको देशमा’ कृष्णसिंह पेलाको कवितासंग्रह ‘फूलको प्रहार’ र वीरबहादुर नेपालीको ‘एकलव्य’ कवितासंग्रह विमोचन गरियो । साथै, सुदूरपश्चिमबाट तीन दशकदेखि प्रकाशन भइरहेको साहित्यिक मासिक पत्रिका ‘गुगुल्डी’को ३१४औँ अंकसमेत विमोचन गरियो ।
दुईदिने कार्यक्रममा नेपाल तथा भारतका विभिन्न पुस्तकहरूको प्रदर्शनी, कवितावाचन तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । प्रमुख अतिथिका रूपमा सहभागी सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री रावलले डोट्याली, कुमाउनी, हिन्दी र अंग्रेजी भाषामा शताब्दियौँ लामो नेपाल भारत सांस्कृतिक सम्बन्धका विविध पक्षहरूको मसिनो विश्लेषण गरे ।
त्यसपछि भारतीय कवि, लेखकहरूसँग साहित्यिक भलाकुसारी निरन्तर चलिरहेको छ । पछिल्ला डेढ वर्षमा बैतडीको दोगडाकेदार, कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर र भारतको देहरादुन, रानीदेत तथा अल्मोडामा यस्तै खाले कार्यक्रम आयोजना गरिएका थिए ।
अल्मोडामा उत्तराखण्डको ‘एसएस जिना विश्वविद्यालय, अल्मोडा’ले आयोजना गरेको ‘हिमालयी लोक संस्कृति, अन्तर्राष्ट्रिय गोष्ठी’ मा प्रमुख अतिथि नेपाल–भारत प्रबुद्ध समूहका संयोजक भगतसिंह कोस्यारी र विशिष्ट अतिथिको रूपमा रावललाई एउटै मञ्चमा निम्त्याइएको थियो ।
विश्वविद्यालयको इतिहास, पुरातत्व तथा सांस्कृतिक विभागद्वारा आयोजना गरिएको कार्यक्रम २०२४ को फेबु्रअरी १७ र १८ मा सञ्चालन भएको थियो । विश्वविद्यालयका प्राध्यापक डा। गोकुल देउवाका अनुसार गोष्ठीमा १२ वटा प्राविधिक समूह बनाएर दुई सय १३ वटा कार्यपत्रमा छलफल गरिएको थियो । भारतको राजस्थान विश्वविद्यालय, कुमाउ विश्वविद्यालय, लखनउ विश्वविद्यालय, बनारस हिन्दु विश्वविद्यालयलगायत १५ वटा विश्वविद्यालयका अध्येताहरूको सहभागिता रहेको थियो। यता नेपालको त्रिभुवन विश्वविद्यालयको तर्फबाट प्राडा। विदुर चालिसेले सहभागिता जनाएका थिए । सो कार्यक्रममा अमेरिका, पोल्यान्ड, क्यानडा, स्विट्जरल्यान्ड, पोर्चुगल, श्रीलंकाबाट इतिहास तथा संस्कृति विषयका अध्येताहरूको सहभागिता रहेको थियो ।
दुई देशबिच हुने यस्ता साहित्यिक कार्यक्रमले नेपालको समाज र साहित्यबारे नजिकबाट बुझ्न सघाउने धारणा नेपाली सर्जकहरूको छ । युवा कवि तीर्थराज भट्ट नेपालको सुदूरपश्चिम र भारतका सीमावर्ती साहित्यिक संस्थाबिच भइरहने कार्यक्रमले दुई देशका जनताबिचको भावनात्मक सम्बन्ध–सेतु बन्ने बताउँछन् । प्रगतिशील खेलक संघका महासचिव ढकाल भन्छन्,‘साहित्यको कुनै सीमा हुँदैन । भूगोलभन्दा माथि उठेर विश्व–साहित्यबारे बुझ्ने र एकजुट हुने हाम्रो लक्ष्य हो।’