सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ जनाको उपचार

शुक्रबार, ४ बैशाख, २०८३
डिजिटल संस्करण

सुर्खेतस्थित प्रदेश अस्पतालमा सञ्चालित ‘नबिल निःशुल्क जलन उपचार शिविर’मार्फत १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन्। प्रादेशिक अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा गत चैत २७ देखि तीन दिनसम्म शिविर आयोजना गरिएको थियो।

शिविरमा आएका ३९ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको बैंकले जनाएको छ। जटिल किसिमका एकजना बिरामीलाई काठमाडौंको कीर्तिपुर अस्पतालमा रिफर गरिएको छ। शिविरमा लामो समयदेखि उचित उपचार तथा शल्यक्रियाको पर्खाइमा रहेका र आर्थिक अवस्था कमजोर भएका बिरामीहरूले निःशुल्क उपचार पाएका थिए।

सिँजा गाउँपालिका– ५ की सम्झना रोकायाको शिविरमा आउँदा जलनका कारण उनको हात नचल्ने अवस्थामा थियो। शल्यक्रियापछि अब हात सिधा भएको र घर खेतको काम आफैँ गर्न सक्ने विश्वास पलाएको रोकायाले बताइन्।

‘नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नुपर्ने अवस्था रहेकामा नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनपीडितलाई लक्षित गरी शिविर आयोजना गरेको हो,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले भने। उनले आगामी दिनमा लुम्बिनी र मधेश प्रदेशमा पनि यस प्रकारका शिविर आयोजना गर्ने जानकारी दिए।

फेक्ट नेपालको कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईसहितका विशेषज्ञ चिकित्सकको टोलीले कर्णाली प्रदेशका जलनका बिरामीहरूलक्षित शिविरमा शल्यक्रिया गरेका हुन्।

जलन उपचार शिविर सञ्चालन गर्नुअघि कर्णाली प्रदेशका विभिन्न जिल्लाका १६ स्थानमा स्क्रिनिङ क्याम्प राखिएको थियो। स्क्रिनिङ क्याम्पमा फेक्ट नेपालका स्वास्थ्यकर्मीहरूले स्थानीय तहमै पुगेर प्रारम्भिक बिरामीहरूको विवरण लिएका थिए।

बैंकले यसअघि सुदूरपश्चिममा निःशुल्क जलन शिविर सञ्चालन गरेको थियो। गत फागुन १२ देखि १४ गतेसम्म धनगढीमा सञ्चालन भएको उक्त शिविरमार्फत ६५ जना जलनका बिरामीहरूले निःशुल्क उपचार पाएका थिए।

सुझावित समाचार