आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका- ३२ बस्ने रौतहट घर भएका २९ वर्षीय अनन्त कोइराला, काठमाडौं गोकर्णेश्वर नगरपालिका- ५ बस्ने इलाम घर भएका ४७ वर्षीय जगतबहादुर खड्का, काठमाडौं महानगरपालिका- २६ बस्ने तारकेश्वर नगरपालिका- ६ घर भएका ५४ वर्षीय ज्ञानु श्रेष्ठ र भक्तपुर नगरपालिका- १५ बस्ने रामेछाप घर भएका २२ वर्षीय विकास श्रेष्ठ रहेका छन्।
प्रहरीका अनुसार कोइरालाले फिनल्यान्ड पठाइदिने भन्दै एकजना पीडितबाट ३१ लाख १५ हजार ८७ रुपैयाँ ठगी गरेका थिए। त्यस्तै, जगतबहादुर खड्काले कतार पठाइदिने भन्दै एक लाख ३९ हजार रुपैयाँ, ज्ञानु श्रेष्ठले युएई पठाइदिने भन्दै तीन लाख रुपैयाँ र विकास श्रेष्ठले साइप्रस पठाइदिने भन्दै नाै लाख रुपैयाँ असुली गरी सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेका अनन्तलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने अन्य तीनजना जगत, ज्ञानु र विकासलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ। प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने यस्ता ठगीप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।