प्रहरी महानिरीक्षक कार्की र कार्यवाहक नगर प्रमुख डंगोलबिच ‘सडक शिष्ट सहर’ बनाउनेबारे छलफल

बिहिबार, ३ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलबिच उपत्यकाका सडक बालबालिका उद्धार, पार्किङ व्यवस्थापन, ट्राफिक व्यवस्थापन, प्रहरीलाई लजिस्टिक सहयोगलगायत सम्बन्धमा छलफल भएको छ । 

प्रहरी र महानगरपालिकाका साझा एजेन्डामा साझा एजेन्डामा छलफल भएको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बताए । ‘अहिले उपत्यकाका जथाभावी पार्किङ छ, सडक मनिटरिङ गर्न पनि पुगेको छैन, पार्किङ स्थान पनि कम छ, त्यसैले पार्किङ स्थान तोकौँ भनेर मैले भनेको छु, सडक बालबालिकालाई मानव सेवा आश्रममा लैजाने सम्बन्धमा कुराकानी भयो, हाल वसन्तपुर, महांकाल, पशुपति क्षेत्रमा धेरै बालबालिकाहरू माग्न बसिरहेका हुन्छन्, उनीहरूलाई फरक–फरक ठाउँमा राख्नुपर्ने हुन्छ, कोहीलाई सेल्टर र रिह्याबमा राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘छलफलमा मैले ट्राफिक व्यवस्थापन नगर प्रहरी होइन ट्राफिकले नै गर्छ भनेँ, यसबाहेक सार्वजनिक बसमा प्रहरीभन्दा पनि सिसिटिभी राखौँ भन्नेबारेमा पनि छलफल भयो ।’ उनका अनुसार नेपाल प्रहरीले यातायात व्यवसायीहरूसँग छलफल गरेर सार्वजनिक यातायातमा सिसिटिभी राख्नसमेत अनुरोध गरेको थियो, सोहीअनुसार अहिले अधिकांश बसमा सिसिटिभीसमेत जडान भइसकेका छन् । 

छलफलमा कार्कीले ट्राफिक प्रहरीका लागि बडी क्यामेरा उपलब्ध गराउन डंगोलसँग अनुरोधसमेत गरे । यसो हुँदा ट्राफिक नियम र गलत गर्नेलाई कारबाही गर्न वा सचेत गराउन सहज हुने आइजिपी कार्कीको भनाइ छ । छलफलका क्रममा कार्यवाहक प्रमुख डंगोलले सडक बालबालबालिकामुक्त महानगर बनाउने अभियानलाई सफल पार्न प्रहरीकाे सहयोग मागेकी थिइन् । छलफलका क्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी र महानगरपालिकाको समन्वयमा सहर व्यवस्थित बनाउन सकिने बताएका थिए ।
 

सुझावित समाचार