धनगढी उपमहानगरपालिकाले लामो समयदेखि बन्द अवस्थामा रहेको खुटिया सिँचाइ योजना पुनः सञ्चालनमा ल्याउन संघीय सरकारसँग माग गरेको छ। उपमहानगरले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्र पठाउँदै यो सिँचाइ योजना सञ्चालन गर्न माग गरेको हो।
खुटिया खोलामा रहेको खुटिया सिँचाइ योजनाले धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका विभिन्न वडामा सिँचाइ सुविधा पुर्याएको थियो। तर, साढे दुई दशकभन्दा बढी समयदेखि योजना बन्द रहेको स्थानीय बताउँछन्। वर्षौँअघि बाढीले नहरको मुहान संरचना तहसनहस गरेपछि योजना बन्द छ भने कतिपय ठाउँमा नहरहरू मासिएका छन्।
नगर प्रमुख गोपाल हमालले मन्त्रालयलाई पठाएको पत्रमा खुटिया खोलामा पानी खेर गइरहेको, तर किसान सिँचाइ सुविधाबाट वञ्चित रहेकाले योजना सञ्चालनमा ल्याउन आग्रह गरिएको छ।
खुटिया सिँचाइ योजना पुनः सञ्चालनमा ल्याउन सके यस क्षेत्रको कृषि उत्पादन र पर्यावरण विकासमा टेवा पुग्ने उपमहानगरले जनाएको छ। पत्रमा नगर प्रमुख हमालले ऐतिहासिक खुटिया सिँचाइ योजना बन्द हुँदा नहर संरचनासमेत अतिक्रमण बढ्दै गएको र खोलामा पानी खेर गइरहेको जनाएका छन्।
खुटिया सिँचाइ योजना बन्द भएपछि लक्षित क्षेत्रका किसान सिँचाइको समस्या भोग्दै आएका छन्। विगतमा ठुलो लगानीमा निर्माण गरिएको सिँचाइ प्रणाली प्रभावकारी रूपमा सञ्चालनमा नरहेकाले कृषिमा प्रत्यक्ष असर परेको उपमहानगरले मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख गरेको छ।
