भारतको बिहारमा महत्त्वपूर्ण राजनीतिक परिवर्तन भएको छ । सम्राट चौधरीले बुधबार मुख्यमन्त्री पदको शपथ लिँदै राज्यको नेतृत्व सम्हालेका छन् । यससँगै लामो समयदेखि प्रभावशाली रहेका नीतीश कुमारको राजनीतिक युग अन्त्यतर्फ पुगेको संकेत देखिएको छ।
नीतीश कुमारको राजीनामापछि चौधरीले राज्यपाल सैयद अता हसनैनसमक्ष शपथ लिएका हुन् । उनी बिहारका पहिलो भाजपा मुख्यमन्त्री बनेका छन् ।
करिब एक दशकभन्दा बढी समय राज्यको नेतृत्व गरेका नीतीश कुमारपछि ५७ वर्षीय चौधरी नयाँ नेतृत्वका रूपमा उदाएका छन् । उनको आगमनलाई केवल सत्ता परिवर्तन मात्र नभई बिहारको राजनीतिक दिशा परिवर्तनका रूपमा पनि हेरिएको छ ।
सम्राट चौधरीले आफ्नो राजनीतिक यात्रा राष्ट्रिय जनता दलबाट सुरु गरेका थिए भने सन् २०१८ मा भाजपा प्रवेश गरेका हुन् । सन् २०२३ मा उनी प्रदेश अध्यक्ष बनेका थिए भने २०२४ मा उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
उनको नेतृत्वलाई विशेषगरी ओबिसी समुदायमा समर्थन विस्तार गर्ने रणनीतिक कदमका रूपमा समेत विश्लेषण गरिएको छ । साथै, शपथअघि केन्द्रीय मन्त्री चिराग पासवानले उनलाई भेटेर सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।