जैविक विविधता तथा रेडपान्डा–थार अन्तर्राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा

मंगलबार, १ बैशाख, २०८३
डिजिटल संस्करण

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यही वैशाख ४, ५ र ६ गते दिक्तेल बजारमा आयोजना गर्न लागेको ‘जैविक विविधता तथा रेडपान्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन– २०८३’को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा लोपोन्मुख वन्यजन्तुहरूको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दिक्तेल बजारमा पहिलोपटक जैविक विविधता तथा रेडपान्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो । 

दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा सञ्चालन हुने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, भुटान, बंगलादेश, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र जर्मनीले सहभागिता जनाउने भएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौँ, वन तथा भू–संरक्षण विभाग काठमाडौं, राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाडौं, त्रिभुवन विश्वविद्यालयको सहकार्यमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन दिक्तेलमा आयोजना गर्न लागिएको हो ।  

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले ‘प्रथम जैविक विविधता तथा रेडपान्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन– २०८३’ आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिएका छन् । ‘विश्वमा जलवायु परिवर्तनमा आएको परिवर्तनका कारण वन्यजन्तु र जैविक विविधता संकटमा पर्दै गएको छ । यो अवस्थामा दिक्तेलमा हुने सम्मेलनले आवश्यक राष्ट्रिय नीति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने अपेक्षा गरिएको छ,’ उनले भने, ‘सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । सम्मेलनले स्थानीय स्वरोजगार, स्थानीय सिप र रैथाने सामग्रीको प्रवर्द्धनमा समेत ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।’

सम्मेलनमा सहभागी विभिन्न मुलुकका प्रतिनिधिले दशवटा विषयगत कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची राखिएको नगरपालिकाले जनाएको छ । जैविक विविधता संरक्षण र दीर्घकालीन योजना निर्माण, लोपोन्मुख वन्यजन्तु संरक्षित क्षेत्र र प्राथमिकतामा राख्नुपर्ने विषयहरूको पहिचान, जैविक विविधता संरक्षणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूसँग सम्बन्धित कार्यपत्र प्रस्तुत हुने नगरप्रमुख भट्टराईले जानकारी दिएका छन् ।  

सम्मेलनका लागि नगरप्रमुख भट्टराईको संयोजकत्वमा मूल आयोजक समिति र वडा नम्बर १० पाथेकाका वडाध्यक्ष मुगाधन राईको संयोजकत्वमा स्थानीय समिति गठन गरिएको छ । सम्मेलनमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूद्वारा विज्ञान तथा गणित प्रदर्शनी, साहित्यिक तथा सांस्कृतिक कार्यक्रम, रैथाने सिप र प्राकृतिक सामग्रीको प्रदर्शनीसमेत गरिने आयोजकले जनाएको छ । 

सम्मेलनमा विभिन्न प्रदेशका विश्वविद्यालय, वैज्ञानिक, विषयविज्ञ तथा शैक्षिक संस्थाहरूले पनि आ–आफ्नो क्षेत्रबाट प्रदर्शनीमा सहभागिता जनाउने भएका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनको मिति नजिकिएसँगै अतिथिहरूको चहलपहल बाक्लिएको छ । 

रेडपान्डा संरक्षणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १०, पाथेका र केपिलासगढी गाउँपालिका– १, फेदीमा ‘समुदायमा आधारित रेडपान्डा संरक्षण कार्यक्रम’ सञ्चालन गरिएको छ । विश्वको लोपोन्मुख वन्यजन्तुमा पर्ने खोटाङमा रहेको पुष्टि भएपछि ‘समुदायमा आधारित रेडपान्डा संरक्षण कार्यक्रम’ सुरु गरिएको हो । 

सरकारको १०० पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गनजिकको जंगलमा रेडपान्डा पाइने भएकाले ‘मुन्दुम ट्रेल–रेडपान्डा–थार रुट’ पदमार्ग प्रवर्द्धन गर्ने नगरपालिकाको योजना छ । किराँत समुदायको उदगमस्थल हलेसीस्थित तुवाचुङ–जायजुम हुँदै मध्यपहाडी लोकमार्ग सडकखण्डको हुर्लुङदेखि रूपाकोटबाट बगरेभन्ज्याङ, सिकुरीभन्ज्याङ, साप्सुढाप, मेरुङ हुँदै मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई ‘मुन्दुम ट्रेल रेडपान्डा–थार रुट’ नामकरण गरिएको छ । 

जिल्लाको सबैभन्दा ठुलो स्थानीय तह (१५ वडा रहेको) यो नगरपालिकाले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित बाँस तथा बाँससम्बन्धी उद्योगको प्रवर्द्धनको कामसमेत गर्दै आएको छ । स्थानीय स्रोतको परिचालन गर्दै देश विकास गर्न सकिने सन्देश प्रवाह गर्न बाँस सम्मेलन गरेको नगरपालिकाले प्रथम जैविक विविधता रेडपान्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन– २०८३ आयोजना गर्न लागेको हो । 

राष्ट्रिय बाँस सम्मेलन गरेर बाँस तथा बाँसजन्य सामग्रीको प्रवर्द्धन एवं नीति निर्माणका लागि दबाब सिर्जना गरेपछि नेपाल सरकार, सहरी विकास मन्त्रालयबाट बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत भएको छ । सरकारले स्वीकृत गरेको मार्गदर्शनमा भूकम्प प्रतिरोधी, वातावरणमैत्री र किफायती संरचना निर्माणका लागि आवश्यक प्राविधिक विवरण र घरका नमुना डिजाइनसमेत समावेश गरिएको छ । 

नगरपालिकालाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले पुरस्कृत गरेको छ । बाँसजन्य स्रोतको संरक्षण, प्रवर्द्धन तथा प्रयोगमार्फत स्थानीयस्तरमा बाँसलाई भवन निर्माण, हस्तकला, व्यावसायिक उत्पादन तथा वातावरणमैत्री समाधानका रूपमा रुपान्तरणसँगै बाँससम्बन्धी सिप विकास, प्रविधि विस्तार र उद्यमशीलता प्रोत्साहनमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले पुरस्कृत गरिएको नास्टले जनाएको छ । 

सुझावित समाचार