प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
मंगलबार नयाँ वर्षको शुभारम्भका अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले सबैको जीवन सुखमय होस् भन्ने कामना गरेका हुन्। उनले आफ्नो शुभकामना सन्देशमा संस्कृत श्लोक ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥’ उद्धृत गर्दै विश्वभरका सबै प्राणीको सुख, शान्ति र आरोग्यको प्रार्थना गरेका छन्।
सन्देशमा उनले भनेका छन्, ‘हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्। सदैव शुभ होस्, निर्बिघ्नता रहोस् र दुःखको नाश होस्।’
उनले नयाँ वर्षले नेपाली समाजमा सकारात्मक ऊर्जा, आपसी सदभाव र एकता थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। साथै, समृद्ध नेपाल निर्माणका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको पनि उनले उल्लेख गरेका छन्।
बालेनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई नयाँ वर्षको हार्दिक शुभकामना दिँदै उज्ज्वल भविष्यको कामना गरेका छन्।