बैंक तथा वित्तीय क्षेत्रमा निक्षेप थुप्रिँदै गएपछि वाणिज्य बैंकहरूले वैशाख ०८३ का लागि ब्याजदर अझै घटाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २६ चैतसम्ममा वाणिज्य बैंकहरूको कुल निक्षेप ७० खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ ।
पछिल्लो समय बैंकिङ प्रणालीमा तरलताको मुख्य स्रोत रेमिट्यान्स आप्रवाह बढ्दै गइरहेको र कर्जा विस्तार सुस्त हुँदा निक्षेप थुप्रिँदै गइरहेको छ । बैंकहरूले ब्याजदर निरन्तर घटाइरहेका छन् । चैतको तुलनामा वैशाखमा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन् ।
चैतमा व्यक्तिगत मुद्दतीतर्फको निक्षेपको औसत ब्याजदर ४.४९५ प्रतिशत रहेकोमा वैशाखमा यो थप घटेर ४.४ प्रतिशत कायम भएको छ । व्यक्तिगत मुद्दतीमा ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, एनआइसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक र हिमालयन बैंक छन् ।
व्यक्तिगत मुद्दतीमा अधिकतम पाँच प्रतिशत ब्याजदर दिनेमा एनएमबि बैंक छन् । अरू वाणिज्य बैंकहरूले ब्याजदर स्थिर राखेका छन् । संस्थागत मुद्दतीतर्फ सिद्धार्थ, हिमालयन, नबिल र एनआइसी एसियाको ब्याजदर घटेको छ । बाँकी वाणिज्य बैंकहरूले स्थिर राखेका छन् । संस्थागततर्फ एनआइसी एसिया र एनएमबि बैंकले अधिकतम ब्याज दिएका छन् ।
