सिराहाको धनगढीमाई नगरपालिका जिरोमाइल क्षेत्रबाट सशस्त्र प्रहरी बलको टोलीले भारततर्फ लैजाँदै गरेको १९ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ।
जिरोमाइल बरियारपट्टी सडक हुँदै भारततर्फ गाँजा लगिरहेको गोप्य सूचनाका आधारमा सुखीपुरस्थित सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरीक्षक यादव खत्रीको नेतृत्वमा खटिएको टोलीले आइतबार दिउँसो गाँजा बरामद गरेको हो।
को. २ ह ७१९४ नम्बरको अटोमा लोड गरिएको गाँजासहित धनगढीमाई– ९ का राजेश दासलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वाटर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाले जानकारी दिए।
उनका अनुसार अटोको स्कर्टिङमा प्रयोग भएको मोटरसाइकलचालक फरार भएकाले अटोसहित गाँजा र चालक दास, नगद २५ हजार १०५ रुपैयाँ, एक थान मोबाइल र करिब ११ तोलाबराबरको चाँदीको ब्रासलेटसमेत बरामद भएको छ। पक्राउ परेका दासलाई आवश्यक कानुनी कारबाहीका लागि लहानस्थित इलाका प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।