आफ्नै गाउँठाउँमा सुविधासम्पन्न आँखा अस्पताल भए पनि आर्थिक अभावले आँखाको उपचार गराउन नपाएका विपन्न, असहाय नागरिकका लागि सिराहाको लहान नगरपालिकाले आँखाको मोतियाविन्दुको शल्यक्रियासहित उपचार अभियानलाई निरन्तरता दिएको छ।
नगरको वार्षिक कार्यक्रममै राखेर नगरपालिकाले सम्बन्धित वडा कार्यालयको समन्वय र लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको सहकार्यमा वडा तहमा आँखा शिविर सञ्चालन गरी मोतियाविन्दु भएका बिरामीको थप जाँच, शल्यक्रियासहित निःशुल्क औषधि, चस्मा वितरण गरिरहेको हो। पछिल्लोपटक लहान– १३ मा सञ्चालित शिविरमा आँखा जाँच गराएका २२० जनामध्ये मोतियाविन्दु भेटिएका ६१ जनामध्ये पहिलो चरणमा ५० जनाको शल्यक्रिया गरिएको छ । अस्पताल प्रशासनका अनुसार बाँकी ११ जनालाई अर्को चरणमा शल्यक्रिया गरिँदै छ।
‘विपन्न असहायका लागि नगरपालिका अभिभावक’
अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया गरिएका बिरामीहरूलाई शनिबार नगर प्रमुख महेशप्रसाद चौधरीले अस्पतालमै पुगेर भेट गर्दै विपन्न असहायका लागि नगरपालिका अभिभावक रहेको बताए । बिरामीहरूलाई जुस वितरण गर्दै उनले अप्ठ्यारोमा परेका नागरिकका लागि नगरले आफ्नो स्राेतले भ्याएसम्म सहयोग गर्ने आश्वासन दिए । ‘घरपरिवारले चाहँदा–चाहँदै पनि अस्पतालसम्म पुर्याउन नसकेका बिरामीहरूलाई नगरपालिकाले हेर्छ,’ उनले भने, ‘अस्पतालसम्म ल्याएर उपचारपछि घर फर्किन नगरबसको समेत सुविधा दिएका छौँ।’
आर्थिक वर्ष ०७९/०८० देखि करिब साढे तीन वर्षको अवधिमा नगरको २४ वटै वडामा आठ हजार जनाभन्दा बढीको आँखा जाँच र दुई हजार चार सयभन्दा बढीको शल्यक्रिया गरिएको नगरपालिकाले जनाएको छ । आँखा अस्पतालका शिविर संयोजक राजकुमार यादवका अनुसार मोतियाविन्दुको पहिचान भएका बिरामीलाई नगरबसबाट अस्पतालसम्म ल्याएर उपचारपछि पुनः गाउँमा पुर्याउने व्यवस्था मिलाइएको बताए।
‘मोतियाविन्दु भएका बिरामीलाई नगरको सहयोगमा अस्पतालमा शल्यक्रियासहित निःशुल्क चस्मा र औषधिसमेत दिइएको छ,’ उनले भने, ‘गरिब, विपन्न र असहाय बिरामीलाई पाँचदेखि १० हजार रुपैयाँसम्म लाग्ने शल्यक्रिया खर्च नगरपालिकाले व्यवस्थापन गरिरहेकाले अन्धोपन निवारणमा ठुलो यागदान पुर्याएको छ।’ नगरपालिकाले अस्पतालसँग सम्झौता गरी हरेक वर्ष नगरको २४ वटा वडा क्षेत्रका कम्तीमा एक हजारजनाको आँखा जाँच गर्ने गरी अभियान चलाइरहेको छ।