चौथो यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिप २०२६ पोखरामा शनिबारदेखि सुरु भएको छ । नेपाल एथलेटिक्स संघको आयोजना एवं कास्की जिल्ला एथलेटिक्स संघको सहकार्यमा सुरु तीनदिने च्याम्पियनसिपमा यू–२० तर्फ २४ र पोखरा ओपनतर्फ ३० विधामा गरी चार सय ६६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
तीनदिने प्रतियोगितामार्फत यू–२० एसियन च्याम्पियनसिपका लागि खेलाडी छनोट गरिने प्रतियोगिताका संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए ।
गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले उद्घाटन गरेको प्रतियोगितामा ट्र्याक र फिल्डमा विभिन्न विधाका खेल सञ्चालन गरिएका छन् । ट्र्याकतर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटर दौडसँगै सय मिटर र चार सय मिटर रिले प्रतिस्पर्धा हुनेछन् । यसैगरी फिल्डतर्फ हाइजम्प, लङजम्प, सटपुट र ज्याभलिन थ्रोका खेल हुने अधिकारीले जानकारी दिए ।
पहिलो दिन गण्डकीलाई अग्रता
पहिलो दिन यू–२० तर्फ घरेलु टोली गण्डकी प्रदेशले ६ स्वर्ण, ५ रजत र २ कांस्य पदक हात पारेको छ । बागमतीले ३ स्वर्ण र ६ रजतसहित दोस्रो र सुदूरपश्चिमले ३ स्वर्ण, २ रजत र १ कांस्य पदकसहित तेस्रो स्थानमा रहेका छन् ।
यू–२० तर्फ बागमतीका अभिनाश सुनारले हाइजम्पतर्फ १.८२ मिटर जम्प गर्दै स्वर्ण पदकसँगै नयाँ कीर्तिमान बनाए । यसअघि गण्डकीका गणेश विकको नाममा रहेको १.८१ मिटरको कीर्तिमान उनले भंग गरेका हुन् । महिलातर्फ गण्डकीकी प्रमिला सुर्खेतीले १.३७ मिटर जम्प गर्दै स्वर्ण पदक हात पारिन् ।
१०० मिटर पुरुष दौडमा बागमतीका प्रवीन रानाले १०.४४ सेकेन्डमा पार गर्दै स्वर्ण पदक हात पार्दा महिलातर्फ गण्डकीकी अनुष्का अधिकारीले १२.८१ सेकेन्डमा दूरी पार गदै स्वर्ण पदक जितिन् । १५०० मिटर पुरुषतर्फको दूरी ४ मिनेट ०९.३५ सेकेन्डमा पार गर्दै गण्डकीका बादल कार्कीले स्वर्ण पदक जित्दा महिलातर्फ ५ मिनेट १०.२७ सेकेन्डमा दूरी पार गर्दै गण्डकीकी नारायणी भण्डारीले स्वर्ण पदक हात पारिन् ।
सटपुटमा लुम्बिनीलाई स्वर्ण पदक
सटपुट पुरुषतर्फ लुम्बिनीका राजन भण्डारीले १०.७४ मिटर थ्रो गर्दै स्वर्ण पदक हात पार्दा महिलातर्फ सुदूरपश्चिमकी कृष्णा बलमे ७.९९ मिटर थ्रो गर्दै स्वर्ण हात पारिन् । ४०० मिटर पुरुषतर्फको दौड ५२.५४ सेकेन्डमा पूरा गर्दै गण्डकीका प्रकाश महतोले स्वर्ण पदक जित्दा महिलातर्फ १ मिनेट ९१ सेकेन्डमा दूरी पार गर्दै सुदूर पश्चिमकी संगीता विकले स्वर्ण हात पारिन् ।
ज्याभलिन थ्रो पुरुषतर्फ ५४.८८ मिटर थ्रो गर्दै कोशीका सोहेल मनसुरीले स्वर्ण हात पार्दा महिलातर्फ सुदूर पश्चिमकी पूजा साउदले ३४.६६ मिटर थ्रो गर्दै स्वर्ण पदक पाइन् । एथलेटिक्सको रिले पुरुषतर्फ गण्डकीले स्वर्ण पदक जितेको छ भने महिलातर्फ बागमतीले स्वर्ण पदक हात पारेको छ ।