संघीय निर्णय अव्यावहारिक भन्दै आठराई त्रिवेणीद्वारा दुईदिने बिदा अस्वीकार

शुक्रबार, २७ चैत, २०८२
डिजिटल संस्करण

संघीय सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरे पनि ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले उक्त निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको छ।

गाउँपालिकाको बुधबार बसेको ६०औँ कार्यपालिका बैठकले पुरानै समयतालिकाअनुसार कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकले कार्यालय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्ने र आइतबार बिदा नदिने निर्णय गरेको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुले बताए।

अध्यक्ष पोमुले स्थानीय भौगोलिक अवस्था र सेवाग्राहीको पहुँचलाई ध्यानमा राख्दा संघीय सरकारको निर्णय व्यावहारिक नभएको निष्कर्ष निकालेको बताए। उनले कर्मचारी र सेवाग्राही दुवैलाई समस्या पर्ने भएकाले नयाँ निर्णय लागू गर्न नसकिएको जानकारी दिए।

‘कर्मचारीहरू टाढा–टाढाबाट आउनुपर्ने हुन्छ, धेरैले दुई–तीन घण्टा पैदल हिँड्नुपर्छ, त्यसैले बिहान ९ बजेसम्म कार्यालयमा आइपुग्न सम्भव नहुने र डिजल पेट्रोल पनि धेरै प्रयोगमा नआउने भएकाले साबिकअनुसार नै कार्यालय सञ्चालन गरिने निर्णय गरेका हौँ,’ अध्यक्ष पोमुले भने। सेवाग्राही पनि बिहानै निस्कँदा ११–१२ बजेतिर मात्र आइपुग्ने भएकाले ९ बजेको समय व्यर्थ हुने उनको भनाइ छ।

‘काठमाडौं तथा तराईका जिल्लाजस्तो यस जिल्लामा डिजेल तथा पेट्रोलको खपत पनि कम भएकाले सवारी सुविधा सीमित छ, जसले समयमै कार्यालय पुग्न झन् कठिन बनाएको छ। साथै आर्थिक वर्षको अन्त्यतिर कामको चाप बढ्ने भएकाले आइतबार पनि बिदा दिँदा काम सम्पन्न गर्न समस्या हुन्छ,’ उनले भने।
गाउँपालिकाले यस विषयमा जनप्रतिनिधि, कर्मचारी र सरोकारवालासँग छलफल गरेर निर्णय लिएको जनाएको छ। अध्यक्ष पोमुले टेलिफोनमार्फत पनि शनिबार मात्रै बिदा हुने जानकारी दिए। शिक्षा क्षेत्रमा पनि संघीय निर्णय कार्यान्वयन गर्दा समस्या पर्ने गाउँपालिकाको निष्कर्ष छ। पोमुका अनुसार पाठ्यक्रम विकास केन्द्रले तोकेको २२० दिनको पाठ्यक्रम अनुसार पढाइ गर्नुपर्ने भए पनि दुईदिने बिदा लागू गर्दा कोर्स सकिन कठिन हुन्छ। यद्यपि, कार्यपालिकाको निर्णयअनुसारको औपचारिक सूचना भने गाउँपालिकाको वेबसाइटमा सार्वजनिक गरिएको छैन।

अध्यक्ष पोमुले अभ्यासका रूपमा बिहान ९ बजे कार्यालय सञ्चालन गरेर हेर्दा प्रभावकारी नभएको जानकारी दिए। संघीय सरकारको निर्णय व्यावहारिक नभएको भन्दै अध्यक्ष पोमुले यसअघि नै सार्वजनिक रूपमा असहमति जनाइसकेका थिए। उनले तयारीविनाको दुईदिने बिदा प्रभावकारी नहुने र कार्यान्वयनमा कठिनाइ हुने बताएका थिए। अध्यक्ष पोमु नेकपा एमालेका जिल्ला कार्यवाहक अध्यक्षसमेत हुन्।
 

सुझावित समाचार