सेयर खरिद–बिक्री तथा धितोबापतको रकम फरक ग्राहकको कारोबार राफसाफ गर्न प्रयोग भएको पाइएपछि भृकुटी स्टक ब्रोकिङको लाइसेन्स निलम्बन गरिएको छ । नियामक निकाय धितोपत्र बोर्डको २३ चैतको बैठकले निलम्बन गरिएको बोर्डले जनाएको छ ।
धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ३१ विपरीत कार्य गरेको बोर्डले जनाएको छ । धितोपत्र कारोबार राफसाफ तथा फर्स्योट विनियमावली, २०६९ को विनियम १३, १६ र १७ को व्यवस्था पालना नगरी खरिदकर्ता ग्राहकबाट रकम लिने र बिक्रीकर्ता ग्राहकलाई रकम नदिने कार्य गरेको समेत भेटिएको छ ।
त्यस्तै, धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम अग्रिम रकम (कम्तीमा २५ प्रतिशत) नलिई धितोपत्र खरिद गर्न सुविधा दिएको समेत भेटिएको बोर्डले जनाएको छ । गत १२ चैतको कारोबार विवरणअनुसार सो ब्रोकरले लगानीकर्तालाई दिनुपर्ने दायित्व रकम पाँच अर्ब ११ करोड तीन लाख ७४ हजार दुई सय ३७ रुपैयाँ देखिएको छ ।
उधारोमा धितोपत्र खरिद गर्न सुविधा दिई लगानीकर्ताले रकम नै नतिरी हितग्राही खातामा धितोपत्र जम्मा गरिदिने कार्यबाट धितोपत्रको मूल्यमा प्रभाव पर्न सक्ने र पुँजी बजारमा प्रतिकूल असर पर्न सक्ने भएकाले कारबाही गरिएको बोर्डले जनाएको छ । निलम्बन अवधिभर कानुनअनुसार लगानीकर्तालाई रकम फिर्ता दिन र अन्य ब्रोकरमार्फत लगानीकर्ताले कारोबार गर्न चाहेको खण्डमा आवश्यक सहजीकरण गर्न भने छुट दिइएको बोर्डले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।