एरिकाले कराँते वान प्रिमियर लिग खेल्ने

बुधबार, २५ चैत, २०८२
डिजिटल संस्करण
  • चीनको लेसनमा १० देखि १२ अप्रिलसम्म हुने डब्लुकेएफ कराँते वान प्रिमियर लिगमा एरिका गुरुङले ६८ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्ने 

एरिका गुरुङले चीनको लेसनमा हुने डब्लुकेएफ कराँते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । नेपाललाई विभिन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ऐतिहासिक प्रदर्शनसँगै पदक दिलाएकी एरिकाले लेसनमा १० देखि १२ अप्रिलसम्म आयोजना हुने डब्लुकेएफ कराँते वान प्रिमियर लिगमा ६८ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक कुशल श्रेष्ठले बताए । गत जनवरीमा टर्कीको इस्तानबुलमा भएको प्रिमियर लिगमा एरिकाले ऐतिहासिक रजत पदक जितेकी थिइन् । प्रिमियर लिग वर्षमा चारपटक विभिन्न राष्ट्रले आयोजना गर्छन् ।

राष्ट्रिय कराँते टोलीका प्रशिक्षक कुशलले विश्व वरीयताको कुमते विधामा एरिका ११औँ स्थानमा छिन् । सन् २०२६ को उपलब्धिका आधारमा एरिका चौथो वरीयतामा रहेकी छिन् । चीनमा जाने नेपाल कराँते टोलीलाई मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता र नेपाल कराँते महासंघका महासचिव दावा गुरुङले बिदाइ गरेका छन् । सदस्यसचिव मेहताले पदक जितेबापत खेलाडीले प्राप्त गर्न नसकेको नगद पुरस्कारका लागि पहल गरिरहेको बताए ।

‘विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेबापतको खेलाडीले पाउन नसकेको नगद पुरस्कारका लागि गम्भीर भएर सम्बन्धित निकायमा पहल गरिरहेको छु,’ मेहताले भने, ‘खेलकुदमन्त्रीसमक्ष पनि पेस गरिएको तत्काल गर्नुपर्ने १८ कार्यमध्ये मैले खेलाडीको पुरस्कारलाई पहिलो नम्बरमा राखेको थिएँ ।’ राखेपले यसै आर्थिक वर्षमा खेलाडीहरूले पाउन नसकेको रकम दिलाउने प्रयास गर्ने उनले बताए । ‘यही आर्थिक वर्षमा दिलाउने प्रयास हुनेछ । यसमा मन्त्रालय सकारात्मक देखिएको छ ।’

आठ इभेन्ट्समा १७ जित
तीन वर्षयता एरिका उत्कृष्ट फर्ममा रहँदै अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छिन् । विश्व कराँते महासंघको तथ्यांकअनुसार उनले यस सिजनमा आठ विभिन्न अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएकी छिन् । जसमध्ये उनले १७ जित र सात हारको सामना गरेकी छिन् । समग्रमा एरिकाको जित प्रतिशत ७०.८३ रहेको छ । उनले विपक्षी खेलाडीविरुद्ध ११७–५९ को स्कोर गरेकी छिन् । एरिकाको युकोमा ८०.७७ र वाजारियोमा १०.२६ प्रतिशत जित रहेको छ । एरिकाले इपोनमा ८.९७ प्रतिशत जित निकालेकी छिन् । विश्व वरीयताको ११औँ स्थानमा रहँदा उनले २१४५ अंक बटुलेकी छिन् । उनले गत जनवरीमा टर्कीमा भएको कराँते वान प्रिमियर लिगमा दोस्रो स्थान पाएकी थिइन् । गत वर्ष नोभेम्बरमा भएको कराँते विश्व च्याम्पियनसिपमा एरिकाले १२औँ स्थान हात पारेकी थिइन् । गत वर्षकै अक्टोबरमा मलेसियामा सम्पन्न कराँते सिरिज १ मा उनले पहिलोपटक मुलुकलाई स्वर्णपदक दिलाएकी थिइन् । यसैगरी, गत वर्षको मेमा भएको कराँते १ प्रिमियर लिगमा उनले नेपाललाई कांस्य दिलाएकी थिइन् । सो प्रतियोगितामा उनले ५७० वरीयता अंक बटुलेकी थिइन् ।

एरिकालाई सुराई दोको प्रायोजन
जापानको कराँते ड्रेस उत्पादन कम्पनी सुराई दोले ऐतिहासिक पदक विजेता कराँते खेलाडी एरिका गुरुङलाई औपचारिक रूपमा कराँते खेल सामग्री प्रायोजन गरेको छ । कम्पनीमार्फत यस्तो अवसर प्राप्त गर्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छिन् । यो सम्झौता दुई वर्षका लागि कायम रहनेछ । यसप्रकारको अन्तर्राष्ट्रिय सहयोगले खेलाडीको मनोबल उच्च बनाउने र प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने प्रशिक्षक कुशलले बताए । ‘विश्व चर्चित ब्रान्डले नेपाली खेलाडीलाई प्रायोजन गर्नु नेपाली कराँते क्षेत्रका लागि महŒवपूर्ण उपलब्धि हो, यसले हाम्रा खेलाडीप्रति अन्तर्राष्ट्रिय ब्रान्डको चासो बढ्ने विश्वास छ ।’

See More On

सुझावित समाचार