महोत्तरीको एकडारा गाउँपालिका– ५, गेना बथनाहा र जलेश्वर नगरपालिका– ७, बखरीको सीमास्थित जलेश्वर–बर्दीबास सडकखण्डमा दुई मोटरसाइकल एक–आपसमा ठोक्किएर आगलागी हुँदा तीनजनाको जलेर घटनास्थलमै मृत्यु भएको छ। गम्भीर घाइते भएका थप तीनजनालाई प्रादेशिक अस्पताल जनकपुर रेफर गरिएको छ।
दुर्घटनामा जलेश्वर– ६, साहुजीपट्टीनिवासी राम दयाल दासका छोरा रवि दास, सोही ठाउँका सुरेन्द्र दास (सोलिन्द्र)का छोरा सुभाष दास र एकडारा गाउँपालिका– ३, अजमरपट्टीनिवासी शत्रुध्न मण्डलका छोरा अभिषेक मण्डलको मृत्यु भएको छ। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ।
घाइतेहरू जलेश्वर नगरपालिका– ६ निवासी सुरेश दासका छोरा रोहित दास, सोही ठाउँका लखिन्द्र कापरका छोरा अभय कापर र ठेगाना नखुलेका जयकुमार महतोको अवस्था चिन्ताजनक रहेकामा थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।
मृतकमध्ये रवि दास र सुभाष दास महेन्द्र आदर्श महिला माध्यमिक विद्यालय जलेश्वरबाट एसइई परीक्षा दिँदै थिए। घाइते रोहित दास र अभय कापर पनि सोही विद्यालयबाट एसइई दिइरहेका छन्।