चुनावी समीक्षा र आगामी रणनीति निर्माणमा जुट्यो नेकपा

मंगलबार, २४ चैत, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी चुनावी समीक्षा र आगामी रणनीति निर्माणमा जुटेको छ । तत्कालीन माओवादी र एकीकृत समाजवादीसहित २२ घटक मिलेर बनेको नेकपाले गत २१ फागुनको निर्वाचनमा अनपेक्षित परिणाम ल्याएपछि समीक्षामा जुटेको हो । साथसाथै, एकताका बाँकी काम पनि सम्पन्न गर्ने र एकता महाधिवेशन गरेर अगाडि बढ्ने विषयमा पनि छलफल भइरहेको छ ।

संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षता र सहसंयोजक माधवकुमार नेपालले सञ्चालन गरेको नेकपाको हाइकमान्ड अर्थात् केन्द्रीय कार्यसंयोजन समितिको बैठकमा नेताहरूले धारणा राखेका छन् । सोमबार झलनाथ खनाल, वामदेव गौतम, राजेन्द्र श्रेष्ठसहित १३ जनाले बोले । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा १९ चैतमा प्रचण्ड र नेपालले धारणा राखेर बैठक सुरु भएको थियो ।

खनालले जेन–जी आन्दोलनपछिको अन्तरिम सरकार अर्कैको डिजाइनमा बनेको बताए । प्रचण्ड र नेपालले आफूहरूको पहलमा अन्तरिम सरकार बनेको दाबी गर्दै आएकोमा खनालले त्यसप्रति असहमति जनाएका हुन् । ‘हाम्रा संयोजक र सहसंयोजकले आफूहरूको अग्रसरतामा अन्तरिम सरकार बनेको भन्नुभयो । तर, त्यो अर्कैको डिजाइनमा बनेको थियो । कुन उद्देश्यका लागि कसले सरकार बनायो भन्ने पत्तै पाउनुभएन,’ खनालको भनाइ उद्धृत गर्दै एक नेताले भने । खनालले विचारका आधारमा पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । युवालाई जिम्मेवारी दिएर जानुपर्नेमा समेत खनालले जोड दिएका छन् ।

नेता गौतमले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्नेमा जोड दिए । पार्टीले दिने जिम्मेवारी लिएर संगठन निर्माणमा खटिन तयार रहेको उनको भनाइ थियो । नेता श्रेष्ठले आकलन गरेभन्दा निकै कम सिट जितिएको भन्दै नयाँ ढंगले पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । ‘हाम्रो आकलन धेरै थियो । तर, त्यसअनुसारको परिणाम आएन । अहिले जनताले एजेन्डा र उम्मेदवार हेरेनन्,’ उनले भने ।

See More On

सुझावित समाचार