- हाम्रो पर्यटन र आरोग्य उद्योग धेरै मात्रामा एक–अर्काबिच अन्तरसम्बन्धित रहेकाले अबका दिनमा दुवै उद्योगलाई सँगै अगाडि बढाउनुपर्छ
नेपालको प्रस्तावमा संयुक्त राष्ट्र संघको महासभाले यही १० मार्च २०२६ का दिन एक ‘रिजोलुसन’ पारित गर्यो । नेपालद्वारा अगुवाइ गरिएको अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने सो रिजोलुसनमा नेपालसहित अर्मेनिया, अस्ट्रिया, बंगलादेश, भुटान, जर्मनी, भारत, कजाकस्तान, किर्गिस्तान, पाकिस्तान, फिलिपिन्स र उज्वेकिस्तान प्रायोजक मुलुकका रूपमा रहेका थिए । सो रिजोलुसनका पक्षमा एक सय त्रिचालिस मत र विपक्षमा अमेरिकाले मात्र मत दिएको थियो भने सो रिजोलुसन पारित भएसँगै अब प्रत्येक वर्ष १५ अप्रिललाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा संसारभर मनाइने भएको छ ।
अन्तर्राष्ट्रिय सन्दर्भ : विश्वमा आरोग्य उद्योगको ठुलो हिस्सा रहेको छ । एक अध्ययनअनुसार यसको हिस्सा करिब पाँच दशमलव ६ ट्रिलियन अमेरिकी डलर रहेको छ । यसलाई अझ बल दिने गरी जेनेभामा रहेको डिप्लो फाउन्डेसनले आरोग्य क्षेत्रको व्यवसाय/उद्योग मल्टी ट्रिलियन डलरको रहेको उल्लेख गरेको छ । त्यस्तै, विश्वका विभिन्न मुलुकले आरोग्य कूटनीतिमा विशेष जोड दिएको पनि बताएको छ । जस्तो– हाम्रै छिमेकी मित्रराष्ट्र भारतले सन् २०१४ देखि योगलाई विशेष महत्व दिएर यसलाई अन्तर्राष्ट्रियकरण गरेको छ । त्यस्तै कोस्टारिकाले शुद्व जीवन (पियोर लाइफ) का रूपमा ‘पुरा भिदा’ भन्ने अवधारणा विकास गरेको छ । सैनिक नरहेको/नराख्ने मुलुकले स्वस्थ्य जीवनशैलीमा विशेष ध्यान दिएको छ । ‘मानिसमा लगानी न कि सेनामा’ भन्ने नारा उनीहरूको रहेको छ । अर्को उदाहरण हाम्रै एसियाली मुलुकआबद्ध आसियन मुलुकको पनि छ । आसियन मुलुकले आरोग्यका लागि एउटै गन्तव्यको नारासहित संयुक्त रूपमा काम गरिरहेका छन् ।
नेपालमा आरोग्य पर्यटनका सम्भावना : नेपाल प्राकृतिक सम्पदामा धनी मात्र नभई यसको भौगोलिक विविधताले यसलाई थप उचाइ दिएको छ । हामीसँग तराई, पहाड र हिमाल छन् अनि सोही किसिमको हावापानी पनि छ । यहाँ मानिसका रुचि र चाहनाअनुसारका स्थानलाई गन्तव्य बनाउन सकिन्छ । एकै दिनमा फरक–फरक हावापानीको अनुभव सजिलै महसुस गराउन सकिन्छ । नेपालमा रहेका जीवन विज्ञान, विपश्यना ध्यान तथा ओसो तपोवन, पर्यापर्यटन, नेचर हाइकिङ, पर्वतीय ट्रेकिङ, आयुर्वेद मसाज तथा उपचार, आध्यात्मिक तीर्थयात्रा (जसका लागि हाम्रा धार्मिक समुदायपिच्छेका फरक–फरक गन्तव्य पनि छन्) जंगल सफारी, ध्वनि उपचार थेरापी/साउन्ड हिलिङ, स्पालगायत यावत् क्षेत्र रहेका छन् ।
विश्वमा आज भौतिक विकासको उच्चतम प्रगतिले मानिसमा व्यक्तिवादिता बढ्दै गएको र सिसा र फलाममिश्रित मानव निर्मित कंक्रिटको जंगलबाट मानिस प्राकृतिक सौन्दर्यको संसारमा रमाउन चाहन्छ, जहाँ कुनै काल्पनिक तथा कृत्रिमता नमिसियोस् । त्यस्तै, अर्को पक्ष भनेको अहिलेको युवापुस्ता पूरै डिजिटल संसारमा रमाउने र एकलकाटे बनेको छ । उनीहरू परिवार र समाजमा भन्दा पनि डिभाइसमा रमाउने गर्छन् र यो जेनेरेसन सधैँ तनावमा देखिन्छ । यी सबैलाई आकर्षित गर्नु र उनीहरूको इच्छा पूरा गराउन सक्नु नै आरोग्य पर्यटन हो र त्यसका लागि हाम्रो भूगोल, कला, संस्कृति, परम्परा, चाडपर्व, आयुर्वेद/परम्परागत औषधि/उपचार तथा आध्यात्मिकता जोडिएका क्षेत्र सबै अचुक अस्त्र हुन् । त्यस्तै, हाम्रा रैथाने/अर्गानिक उत्पादन र तिनको स्वाद आफैँमा अर्को आकर्षण हो, मात्र मार्केटिङको आवश्यकता छ । स्थानीय उत्पादनलाई सोहीबमोजिम मूल्य शृंखलामा जोड्नुपर्छ । जस्तो– फ्रान्सको दोस्रो ठुलो सहर लियो आफैँमा ‘ग्यास्टोनोमी’मा नाम कहिलेको सहर हो । हाम्रा पहाड र हिमाल यस्ता तपोवन हुन्, जहाँ पहिल्यै ऋषिमुनिले ध्यान गरी मोक्ष प्राप्त गरेका अनेकौँ घटना पढ्न पाइन्छ । शिवपुरी बाबा, स्वर्गद्वारी बाबा तथा खप्तड बाबा केही प्रतिनिधि उदाहरण हुन् । लक्ष्मीप्रसाद देवकोटाले के नेपाल सानो छ भन्ने निबन्धमा उल्लेख गरेझैँ नेपाल सारमा धेरै ठुलो र सम्पन्न छ । भूगोलका हिसाबले हामी दुई ठुला मुलुकबिच भए पनि हाम्रा विविधतामा हामी धेरै सम्पन्न छौँ ।
त्यस्तै विश्वमा अहिले ‘बिपिओ’का माध्यमबाट घरबाटै तथा भौतिक रूपमा उपस्थित नभई दूरीमा रहेर कम्प्युटरमा बसेर काम गर्ने ठुलो जमात छ । उनीहरूले संसारका कुनै पनि कुनामा बसेर काम गर्न सक्छन् । उनीहरूलाई विशेषगरी पोर्चुगल, इटली स्पेनजस्ता मुलुकले नोम्याड/फिरन्ते भिसाको उपलब्ध गराएका छन् । नेपालको हावापानी राम्रो भएको तथा खर्चको हिसाबले पनि सस्तो हुने भएकाले नेपालमा बसेर काम गर्न उनीहरूलाई आकर्षित गर्न सकिन्छ । हाम्रो आरोग्य पर्यटनका सम्भावनाले पनि उनीहरूलाई आकर्षित गर्न सक्छ ।
हामीले आरोग्य कूटनीति, आरोग्य उद्योगलाई सशक्त रूपमा अगाडि बढाउन जरुरी छ । हाम्रो पर्यटन उद्योग आरोग्य उद्योगसँग धेरै मात्रामा अन्तरसम्बन्धित रहेकाले दुवै उद्योगलाई सँगै अगाडि बढाउनुपर्छ । नेपालमा आरोग्य उद्योगको ठुलो सम्भावना रहेको छ । यस सन्दर्भमा नयाँ सरकारको पहिलो बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये एक बुदाँ नं. त्रिहत्तर (७३) मा यस विषयलाई समेटिएको छ । जसमा नेपाललाई आरोग्य पर्यटन (पूर्वीय दर्शन, ध्यान, योग, प्राकृतिक चिकित्सालगायत) को हब बनाउन १५ दिनभित्र आरोग्य पर्यटन रणनीति जारी गर्ने साथै नेपालको प्रस्तावमा संयुक्त राष्ट्र संघले १५ अप्रिललाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेकोमा उक्त प्रस्तावमा मतदान गर्ने सबै सदस्य राष्ट्रलाई धन्यवाद ज्ञापन गर्ने र आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाका रूपमा लिई ‘नेपाल आरोग्य वर्ष २०२७’ मनाउन अन्तरनिकाय समन्वय संयन्त्र बनाउने भनी उल्लेख छ । सरकारको यो राष्ट्रिय एजेन्डालाई सफल र प्रभावकारी बनाउन आरोग्य कूटनीतिलाई विशेष महत्व दिएर अगाडि बढाउन जरुरी छ । आगामी दिनमा यस उद्योगको सम्भावना झनै बढेर जानेछ । मानिसहरू आफ्नो स्वास्थ्य तथा जीवनशैलीमा दिन–प्रतिदिन सचेत हुँदै गएका छन् । संसारमा मध्यम आय भएका मानिसको संख्या बढ्दै छ भने गरिबी घट्दै छ । यसले मानिसलाई स्वास्थ्यमा अझ बढी लगानी तथा खर्च गर्न प्रेरित गर्छ । नेपाल त्यस्ता मानिसका लागि उत्तम गन्तव्य हुन सक्छ ।
त्यस्तै दिगो विकासको एजेन्डा नं. तीन (३) पनि स्वास्थ्यसँग सम्बन्धित रहेकाले आरोग्य उद्योगलाई दिगो विकाससँग जोडेर पनि अगाडि बढाउन सकिन्छ । जनताको स्वास्थ्यसँग रहेकाले आधारभूत मानव अधिकार तथा मौलिक हकको विषय पनि हुने नै भयो । आज पनि विश्वमा ठुलो संख्यामा मानिस न्यूनतम स्वास्थ्य सुविधाको पहुँचबाट टाढा रहेको सन्दर्भमा यस दिवस तथा अग्रसरताले सरकारलाई जनताको स्वास्थ्यमा थप जोड दिन प्रेरित गर्नेछ ।
यसै दिन अर्को एक रिजोलुनसन पनि पारित भएको थियो– १ अक्टोबरलाई अन्तर्राष्ट्रिय कफी दिवसका रूपमा मनाउने थियो । ब्राजिलद्वारा अगुवाइ गरिएको सो रिजोलुसनमा नेपाल पनि प्रायोजक मुलुक रहेको थियो । यस विषयमा भने नेपालमा खासै चासो भएन । तर, नेपालले १ मंसिरलाई राष्ट्रिय कफी दिवसका रूपमा मनाउँदै आएको छ भने यस वर्ष एक्काइसौँ राष्ट्रिय कफी दिवस मनाइएको थियो ।
नेपालले बहुपक्षीय कूटनीतिक मञ्चमा आफैँले अगुवाइ गरी यस महत्वपूर्ण विषयलाई पारित गराउन सफल भएको छ । यो नेपालको ठुलो कूटनीतिक सफलता पनि हो । यसरी नै आगामी दिनमा हाम्रा सम्भावनालाई विश्वसामु चिनाउन पछि पर्नुहुँदैन । नेपालले अगाडि बढाएको यो महत्वपूर्ण कदमले नेपालको सौम्य शक्ति विश्वसामु मुखरित भएको छ । नेपालले १५ अप्रिललाई नेपालभित्र तथा विदेशस्थित नेपाली नियोगमार्फत व्यापक प्रचारप्रसारसहित आरोग्य विज्ञानसँग सम्बन्धित कार्यक्रम गरेर भव्य रूपमा मनाउनुपर्छ । जसरी भारतले अन्तर्राष्ट्रिय योग दिवसका माध्यमबाट योगलाई विश्वसामु पुर्याउन सफल भएको छ, त्यसैगरी अब नेपालले पनि आरोग्य कूटनीतिलाई सार्वजनिक कूटनीतिका कार्यक्रममा समावेश गरी प्राथमिकतासाथ सञ्चालन गर्नुपर्छ ।
अबको बाटो : सरकारको यस राष्ट्रिय एजेन्डालाई अन्तर्राष्ट्रियकरण गर्न र नेपाललाई आरोग्य पर्यटनको गन्तव्य बनाउन सरोकारवाला निकायले सक्रिय भई सर्वप्रथम त आरोग्य पर्यटनको रणनीति तयार गर्ने र यसको कार्यान्वयनका लागि नेपालभित्रको विषयमा सरकारी निकाय र निजी क्षेत्रसमेतको सहकार्यमा कार्य अगाडि बढाउने, विदेशी पर्यटक भिœयाउन आरोग्य प्याकेज तयार गर्ने तथा नेपालमा आरोग्य पर्यटन क्षेत्रका सम्बन्धमा अध्ययन गरी जानकारी प्रकाशन गर्ने र सोका आधारमा नेपाली नियोगलाई परराष्ट्र मन्त्रालयको अगुवाइमा प्रभावकारी रूपमा परिचालन गर्नुपर्छ । त्यस्तै, परराष्ट्र मन्त्रालयमा रहेको सार्वजनिक कूटनीति महाशाखाले नियोग तथा नेपालका सरोकारवाला निकायसँग समन्वय गर्ने नियोगलाई आरोग्य कूटनीति सञ्चालनका लागि आगामी आर्थिक वर्षको बजेटमा छुट्टै बजेटको व्यवस्थाका लागि पहल गर्ने र सूचकहरू तयार गरी नियोगहरूको कार्यसम्पादनको मूल्यांकनसमेत गर्नुपर्छ । कार्यक्रमलाई संख्या र सारमा हेरेर निरन्तर पृष्ठपोषणसहित परिष्कृत गर्दै जानुपर्छ भने भइरहेका कार्यक्रमलाई नियमित रूपमा आमजनतासम्म पुर्याउनुपर्छ । आमसञ्चारको व्यापक विकास र विस्तार भएको विश्वव्यापीकरणमा अहिले यसका लागि धेरै सजिलो पनि छ ।
नेपालले सन् २०२७ लाई नेपाल आरोग्य वर्षका रूपमा मनाउने भनी घोषणा गरेकाले सन् २०२६ को अन्त्यतिर आरोग्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्न सकेमा यसले अन्तर्राष्ट्रिय जगत्को राम्रो ध्यान आकृष्ट गर्न सक्छ । र, आरोग्य वर्षलाई सफलतापूर्वक मनाउन योगदान पुर्याउन सक्छ । त्यस्तै, ‘एकेडेमिक’ तथा ‘थिंक ट्यांक’को छलफल तथा अन्तर्त्रियामा समेत यस विषयलाई यथेष्ट स्थान दिन पहल गर्नुपर्छ । विदेशमा रहेका नेपालका अवैतनिक वाणिज्यदूत तथा महावाणिज्यदूतलाई समेत नेपालमा आरोग्य पर्यटन प्रवर्द्वनसम्बन्धी विविध कार्यक्रम आयोजना गर्न प्रेरित गर्न सकिन्छ । त्यसका लागि आवश्यक प्रचारप्रसारका सामग्री उपलब्ध गराउनुपर्छ । उनीहरूको मूल्यांकन पनि कार्यसम्पादनका आधारमा गरी पुनरावलोकन गर्न सकेको खण्डमा नतिजा हासिल गर्न सकिन्छ ।
अहिलेको सार्वजनिक कूटनीति नेटवर्क तथा साझेदारीमा आधारित भएकाले सम्बद्ध सबै पक्षसँग सहकार्य गरी क्रियाकलाप गर्नुपर्ने भएकाले आरोग्य कूटनीतिका मामिलामा पनि यो उत्तिकै सान्दर्भिक हुन्छ । तसर्थ, स्वदेशी तथा विदेशी आमसञ्चारमाध्यम, यस क्षेत्रमा काम गर्ने थिंक ट्यांक तथा निजी क्षेत्रसँग उचित तालमेल गर्नुपनि उत्तिकै जरुरी देखिन्छ । अर्को पक्ष भनेको कार्यक्रमको निरन्तरता पनि हो । अहिले हामीसँग बलियो र स्थिर सरकार भएकाले नीतिगत निरन्तरता पनि हुने देखिन्छ । त्यसैले, हाम्रो मौलिक सौम्य शक्ति भएकाले पनि सबैले विशेष पहलकदमी गर्नैपर्छ ।
(लेखक त्रिभुवन विश्वविद्यालयमा नेपालको सार्वजनिक कूटनीति विषयमा विद्यावारिधि अध्ययनरत छन्)