साबिक विजेता रोयल च्यालेन्सर्ज बेंग्लोरले आइतबार १९औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सलाई ४३ रनले पराजित गरेको छ । लगातार दुई जितका साथ ४ अंक जोडेको बेंग्लोर शीर्ष स्थानमा छ । चेन्नईले भने लगातार तेस्रो खेल गुमाएको छ । घरेलु मैदानमा बेंग्लोरले २० ओभरमा तीन विकेट गुमाएर २५० रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा चेन्नईले १९.४ ओभरमा सबै विकेट गुमाएर २०७ रन जोड्यो ।
बेंग्लोरका लागि भुवनेश्वर कुमारले चार ओभरमा ४१ रन दिएर सर्वाधिक तीन विकेट लिए । चेन्नईको ब्याटिङमा सफराज खानले २५ बलमा आठ चौका र दुई छक्का प्रहार गरी ५० रनको योगदान दिए । मध्यक्रममा चेन्नईले गतिलो प्रदर्शन गरेको थियो । यसबाहेक शीर्ष र पुछारका ब्याट्सम्यानले आशाअनुरूप ब्याटिङ गर्न सकेनन् । प्रशान्त वीरले २९ बलमा ४३ तथा जेमिए ओभरर्टनले १६ बलमा ३७ रनको योगदान दिएका थिए ।
चेन्नईले पावर प्लेमा तीन विकेट गुमाएर ७७ रन बनाएको थियो । चेन्नईले डेथ ओभरमा कमजोर प्रदर्शन गर्यो । बेंग्लोरले खेलमा १९ तथा चेन्नईले ११ छक्का प्रहार गरेका थिए । चेन्नईले सर्वाधिक २१ चौका प्रहार गर्दा बेंग्लोरका ब्याट्सम्यानले १४ चौका प्रहार गरे ।
आरसिबीको विशाल योगफल
साबिक विजेता आरसिबीले लगातार दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्यो । चेन्नईविरुद्ध आरसिबीले तीन विकेट मात्र गुमाएको थियो । पूर्वकप्तान विराट कोहलीबाहेक अन्य चार ब्याट्सम्यानले आक्रामक ब्याटिङ गरेका थिए ।
विराटले १८ बलमा २८ रन जोडे । फिल र देवदत्त पडिकलले दोस्रो विकेटका लागि ३७ बलमा ५६ रनको साझेदारी गर्दै आरसिबीलाई १०.४ ओभरमा ९२–२ को बलियो स्थितिमा राखे । फिलले ३० बल खेलेर तीन चौका र दुई छक्का प्रहार गरी ४६ रन बनाए । देवदत्त र रजत पतिदारले तेस्रो विकेटका लागि २१ बलमा ५८ रनको साझेदारी गरे । उनीहरूले टोलीलाई १४.१ ओभरमा १५१–३ मा राखे । देवदत्तले २९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरी ५० रन जोडे । रजत र टिम डेभिडले चौथो विकेटका लागि ३६ बलमा ९९ रनको साझेदारी गर्दै टोलीलाई २५० रनको योगफलमा पुर्याए । रजतले १९ बलमा ६ छक्का र एक चौका प्रहार गरी ४८ रन जोडे । टिमले आक्रामक रूपमा २५ बलमा आठ छक्का र तीन चौकाको मद्दतमा ७० रनको योगदान दिए ।
लखउन पाँच विकेटले विजयी
लखनउ सुपर जायन्टले आइतबारको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई पाँच विकेटले हराएको छ । पहिलो ब्याटिङ गरेको हैदराबादले २० ओभरमा नौ विकेट गुमाएर १५६ रन जोडेको थियो । प्रत्युत्तरमा लखनउले १९.५ ओभरमा पाँच विकेट गुमाएर १६० रन जोड्यो । आइपिएमा हैदराबादले तीन खेलमा एक जित र दुई हार सामना गरी २ अंक जोडेको छ । हैदराबाद पाँचौँ स्थानमा छ । पहिलो जित निकालेको लखनउले २ अंक जोडेर सातौँ स्थान प्राप्त गरेको छ ।
पहिलो ब्याटिङ गरेको हैदराबादका लागि हेन्रिक क्लासेनले सर्वाधिक ६२ रनको योगदान दिए ।
उनले ४१ बलमा पाँच चौका र दुई छक्का प्रहार गरी ६२ रन जोडेका हुन् । यसैगरी नीतीशकुमार रेडीले ३३ बलमा पाँच छक्का र तीन चौकाको सहयोगमा ५६ रनको योगदान दिए । हैदराबादको इनिङ्सको एक समय ७.१ ओभरमा २६–४ को स्थितिमा थियो । त्यसपछि क्लासेन र नीतीशकुमारबिच पाँचौँ विकेटका ११६ रनको साझेदारी भएपछि हैदराबाद १४२–५ को बलियो स्थितिमा पुगेको थियो । लखउनका लागि मोहमद सामीले चार ओभरमा नौ रन खर्चेर दुई विकेट लिए । १५७ रन लक्ष्य पछ्याएको लखनउका लागि कप्तान ऋषभ पन्तले ५० बलमा नौ चौकाको सहयोगमा ६८ रन बनाए । ओपनर एडेन माक्रामले २७ बलमा ६ चौका र दुई छक्का प्रहार गरी ४५ रन जोडेका थिए ।