पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नवगठित प्रतिनिधिसभाका सभामुख डिपी अर्यालले संसद्लाई उन्नत लोकतान्त्रिक अभ्यासको केन्द्रका रूपमा विकास गर्ने विश्वास व्यक्त गरेका छन्।
सभामुखमा निर्विरोध निर्वाचित भएका अर्याललाई बधाई दिँदै भट्टराईले उनको कार्यकालले नेपालको वर्तमान राजनीतिक चरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरे।
उनले हँसमुख र मृदुभाषी स्वभावका अर्यालले प्रतिनिधिसभालाई प्रभावकारी र उदाहरणीय लोकतान्त्रिक अभ्यासको थलो बनाउने विश्वास व्यक्त गरे।
भट्टराईका अनुसार संसद्लाई सशक्त लोकतान्त्रिक संस्थाका रूपमा अघि बढाउने वा केवल औपचारिकतामा सीमित राख्ने भन्ने कुरा धेरै हदसम्म सभामुखको भूमिकामा निर्भर रहनेछ।
उनले सभामुखलाई संसद् सञ्चालनका क्रममा महत्वपूर्ण स्वविवेकीय अधिकार हुने भएकाले ती अधिकारको सही प्रयोगबाट संसद्को स्तर निर्धारण हुने बताए। नेपाल मात्र नभई विश्वभर पनि संसद्को प्रभावकारिता सभामुखको नेतृत्वमा निर्भर रहने गरेको उनको भनाइ छ।