कराँतेकी एरिका गुरुङ र टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ २०औँ एनएनआइपिए स्पोर्टस् अवार्ड २०८१ मा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा शुक्रबार बनेपा नगरपालिकास्थित चन्डेश्वरी मन्दिरपरिसरमा भएको अवार्डमा टेबलटेनिसका स्यान्टुले ओलम्पिकको दक्षिण एसियाली छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा स्थान बनाएका थिए । छनोट चरणबाट ओलम्पिक स्थान बनाएका कारण स्यान्टु सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित भएका हुन् । उनी टेबलटेनिसको वर्षका उत्कृष्ट खेलाडी पनि बनेका छन् ।
यसैगरी, कराँते खेलाडी एरिकाले विश्व कराँते वान युथ लिगमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । उनले अस्ट्रेलियन ओपन कराँतेमा नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् । एरिका लगातार दोस्रो वर्ष महिलातर्फ सर्वोत्कृष्ट खेलाडी बनिन् । उनी कराँतेकी वर्षको उत्कृष्ट खेलाडी भइन् । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ प्राप्त गरेका छन् । यसैगरी, प्रतिभावान् पुरुषको अवार्ड तेक्वान्दोका अभिषेक बराल र बक्सिङकी स्वस्तिका तिरुवाले जितेका छन् ।
अभिषेकले छैटौँ कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा ८० केजी तौलमुनि समूहमा स्वर्ण जितेका थिए । स्वस्तिकाले आइएसएफ जिम्नासाइड समर खेलमा स्वर्ण पदक जितेकी थिइन् । यसअघि उनले सन् २०२१ मा दुबईमा भएको एसियाली जुनियर बक्सिङमा पनि कांस्य पदक हात पारेकी थिइन् । अभिषेक तेक्वान्दोका र स्वस्तिका बक्सिङकी उत्कृष्ट खेलाडी पनि बने ।
२६ खेलाडी आ–आफ्ना खेलका उत्कृष्ट
ओलम्पिकमा आबद्ध २७ मध्ये २६ खेलका खेलाडी वर्ष उत्कृष्ट खेलाडी बनेका छन् । संघले एनओसीमा आबद्ध सबै २७ खेललाई पत्राचार गरेको थियो । तर, सुटिङबाट ०८१ मा कुनै खेल आयोजना नभएको भन्दै खेलाडीको नाम पठाउन असमर्थ रहेको जनायो । जसका कारण सुटिङका कोही पनि खेलाडी अवार्डमा सहभागी नभएको आयोजकले जानकारी दिएको छ ।
अवार्डमा पौडीका एर्बिन श्रेष्ठ, र्याफ्टिङ एन्ड क्यानोइङका रबिन चेपाङ, स्कीकी लक्ष्मी राई, आर्चरीका तिलक पुन, फेन्सिङका मीन कार्की, जिम्न्यास्टिकका सुमित तनाखु र भारोत्तोलनका दिलीप यादव वर्षका उत्कृष्ट खेलाडी बनेका छन् । यसैगरी, उसुका शिवजी सिल्वाल, कुस्तीका अमरेशकुमार यादव, जुडोकी दीक्षा मगर, बास्केटबलका मुकेश राखल मगर, भलिबलकी सुमित्रा रेग्मी, फुटबलकी प्रीति राई र ह्यान्डबलकी निशा राई आ–आफ्नो खेलमा उत्कृष्ट खेलाडी बने ।
यसैगरी, ब्याडमिन्टनकी रशिला महर्जन, टेनिसकी सुनिरा थापा, गल्फका सद्भाव आचार्य, हकीकी नीलिमा पाण्डे, ट्रायथलनका मौलिक महर्जन, साइक्लिङका अच्युतकृष्ण खरेल, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी रबिना चौधरी वर्षका उत्कृष्ट खेलाडी भएका छन् ।
पाराकी प्रभा र भलिबलका कुमार सम्मानित
पारा खेलाडी सम्मानबाट एथलेटिक्सकी प्रभा आङ्दाम्बे सम्मानित भएकी छिन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको विश्वविद्यालय खेलकुदमा १५ सय मिटर दौडपछि उनी पारा खेलतर्फ आकर्षित भएकी थिइन् । उनले दुबई ग्रान्ड प्रिक्सबाट अन्तर्राष्ट्रिय डेब्यु गरेकी थिइन् । उनले नयाँदिल्लीमा ३.९६ मिटर जम्प गर्दै टी ४७ लङ जम्पमा रजत जितिन् । जुन नेपाली पारा एथलेटिक्सकै सबैभन्दा ठुलो पदक हो । भलिबल प्रशिक्षक कुमार राईले गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मानित हुँदै ३५ हजार रुपैयाँ प्राप्त गरे । यसैगरी, यस वर्ष एनएनआइपिए पत्रकारिता पुरस्कारबाट सिनियर फोटो पत्रकार उदिप्तसिंह क्षेत्री सम्मानित भएका छन् । उनले ३५ हजार रुपैयाँ पाएका छन् । उनीसँग दुई दशक लामो खेलकुद फोटो पत्रकारिताको अनुभव रहेको छ । स्थानीय आयोजक बनेपा नगरपालिका रहेको अवार्ड कार्यक्रम पहिलोपटक काठमाडौं उपत्यकाबाहिर भएको हो ।