विश्वकपमा यी चर्चित खेलाडी नदेखिने

पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की, चिलीका एलेक्सिस सान्चेज र डेनमार्कका क्रिस्टियन एरिक्सनजस्ता खेलाडी आगामी जुन–जुलाईमा हुने विश्वकपमा देखिने छैनन्

शुक्रबार, २० चैत, २०८२
डिजिटल संस्करण

अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने फिफा विश्वकप फुटबल प्रतियोगितामा सहभागी सबै ४८ राष्ट्रको टुंगो लागेको छ । फिफाले पहिलोपटक आगामी विश्वकपमा सर्वाधिक राष्ट्रलाई सहभागी गराउँदा अनुभवी टोलीहरूले स्थान बनाउन सकेनन् । विशेषतः चारपटकको विश्व च्याम्पियन इटाली लगातार तेस्रोपटक विश्वकप छनोट चरणमै सीमित भएको छ । इटाली विश्वकपमा नहुँदा विश्व फुटबलकै एउटा लेगेसी समाप्त भएको एजेन्सीहरूले जनाएका छन् । 

अफ्रिकी राष्ट्र कंगोले ५२ वर्षपछि विश्वकपमा स्थान बनाउँदा युरोपियन शक्तिशाली राष्ट्र पोल्यान्डसँगै हंगेरी पनि यसपटक विश्वकपमा हुनेछैनन् । बोस्निया हर्जगोभिना पनि तेस्रोपटक विश्वकपमा पुग्यो । नाइजेरिया, डेनमार्क, युक्रेन र चिलीले पनि विश्वकप छनोट पार गर्न सकेनन् । यी राष्ट्र विश्वकपमा नपुग्दा उसका स्टार खेलाडी पनि फुटबलकै ठुलो प्रतिस्पर्धाबाट वञ्चित भएका छन् । यसमा पनि पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की, चिलीका एलेक्सिस सान्चेज, डेनमार्कका क्रिस्टियन एरिक्सन, इटालीका सान्ड्रो टोनालीजस्ता खेलाडी आगामी जुन–जुलाईमा हुने विश्वकपमा देखिने छैनन् । 

रोबर्ट लेवान्डोस्की (पोल्यान्ड)
वर्तमान समयकै विश्वस्तरीय स्ट्राइकरमा पर्छन् पोल्यान्डका लेवान्डोस्की । ३७ वर्षीय बार्सिलोनाका स्ट्राइकर लेवान्डोस्कीले यसपटक विश्वकप खेल्ने चाहना राखेका थिए । तर, स्विडेनसँग प्लेअफ फाइनलमा पोल्यान्ड ३–२ ले पराजित भयो । यो नतिजासँगै लेवान्डोस्कीको विश्वकप खेल्ने सपना तुहियो । पोल्यान्डबाट ८९ अन्तर्राष्ट्रिय गोल गरेका उनी स्पेनिस ला लिगाकै चर्चित खेलाडीमा पर्छन् ।

बार्सिलोनाका प्रमुख खेलाडीमा पर्ने लेवान्डोस्कीले अन्तिम समयसम्म पोल्यान्डलाई विश्वकपमा पु¥याउने प्रयास गरेका थिए, तर सफल भएनन् । व्यावसायिक फुटबलमा लेवान्डोस्कीले जर्मन बुन्डेस लिगा १० पटक जितेका थिए । लामो समयम जर्मन क्लबमै बिताएका उनले दुईपटक बोरुसिया डर्टमन्डबाट बुन्डेस लिग हात पारेका थिए । कीर्तिमानी रूपमा बायर्नबाट उनले लगातार आठ सिजन लिग उपाधि जितेका थिए । बार्सिलोनामा आबद्ध भएपछि उनले दुईपटक स्पेनिस ला लिगा जितेका छन् । मंगलबार राति लेवान्डोस्कीले आफ्नो करिअरकै अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अनुमान सफल पार्न सकेनन् । लेवान्डोस्कीले विश्वकप २०१८ मा पोल्यान्ड टोलीको कप्तानी गरेका थिए । सन् २०२२ को कतार विश्वकपमा उनले पोल्यान्डलाई अन्तिम १६ सम्म पुर्याए । 

जियानलुइजी डोनारुम्मा (इटाली)
पछिल्लो समय इटालीको फुटबल त्यति आकर्षक बन्न सकेको छैन । कुनै समय फुटबलमा राज गरेका इटालीमा अहिलो टेनिस क्रेज बढेको छ । टेनिसकै प्रभावका कारण इटालीमा सिरी ‘ए’ लिगमा दर्शकको उपस्थिति पातलिँदै छ । राज्यले फुटबलप्रति लगानी नगर्दा त्यसको प्रत्यक्ष असर राष्ट्रिय टोलीमा पर्यो । यसकारण इटाली लगातार तीनपटक विश्वकप छनोट चरणमै सीमित भयो । 

यो नतिजासँगै इटालीका गोलरक्षक जियानलुइजी पनि विश्वकप खेल्न वञ्चित भए । वर्तमान समयमा उनी इंग्लिस प्रिमियर लिगका उत्कृष्ट गोलरक्षकमा पर्छन् । गत २६ सेप्टेम्बरमा जियानलुइजी २६ मिलियन पाउन्डमा पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट म्यानचेस्टर सिटीमा आबद्ध भएका थिए । गत सिजन उनकै उत्कृष्ट प्रदर्शनमा पिएसजीले युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिता जितेको थियो ।

च्याम्पियन्स लिगपछि उनी सिटीमा आबद्ध हुन पुगे । सन् २०२० मा इटालीले युरोकप जित्दा उनले गोलरक्षकको भूमिकामा उत्कृष्ट खेल देखाए । यसै प्रदर्शनका कारण उनी सो युरोकपकै उत्कृष्ट खेलाडी बनेका थिए । सन् २०२६ को विश्वकपअन्तर्गत प्लेअफमा इटाली बोस्निया हर्जगोभिनासँग पेनाल्टी सुटआउटमा ४–१ ले पराजित भएपछि जियानलुइजीले पनि विश्वकप मिस गरे । 

डोमिनिक सोबोज्लाई (हंगेरी)
इंग्लिस प्रिमियर क्लब लिभरपुलले पछिल्लो समयमा युरोपियन फुटबलमा राम्रो प्रदर्शन गरिरहेको छ । प्रिमियर लिगदेखि च्याम्पियन्स लिगसम्म लिभरपुल उपाधि दाबेदार टोलीका रूपमा रहेको छ । लिभरपुलको मिडफिल्डमा हंगेरीका डोमिनिकले कमान्ड सम्हालेका छन् । मिडफिल्डर डोमिनिकले यस सिजन प्रिमियर लिगमा प्रभावशाली प्रदर्शन गरेका छन् । बेलायती लिगमा चर्चामा रहेका यी खेलाडी सन् २०२६ को विश्वकपमा देखिने छैनन् । विश्वकपअन्तर्गत मंगलबार राति भएको अन्तिम समूह खेलमा आयरल्यान्डसँग पराजित हुँदा हंगेरी विश्वकप दौडबाट बाहिरियो । अन्तिम समयमा उत्कृष्ट प्रदर्शन गरेको आयरल्यान्डले प्लेअफमा स्थान बनायो । 

क्रिस्टियन एरिक्सन (डेनमार्क)
वर्तमान समयका चर्चित मिडफिल्डर एरिक्सन पनि विश्वकपमा देखिने छैनन् । विश्वकपअन्तर्गत युरोपियन प्लेअफ फाइनलमा डेनमार्क चेक रिपब्लिकसँग ३–२ ले पराजित भयो । यो नतिजासँगै डेनमार्क विश्वकपमा पुग्न सकेन । युरोपकै आकर्षक र उत्कृष्ट डिब्लिङको क्षमता राख्ने एरिक्सनको विश्वकप खेल्ने सपना यसपटक पनि पूरा भएन । यसअघि नर्थ मासेडोनियालाई ४–० ले हराउँदा डेनमार्क विश्वकपनजिक पुगेको थियो । तर, निर्णायक खेलमा डेनमार्कले मौका गुमायो । व्यावसायिक फुटबलमा एरिक्सन जर्मन क्लब वल्सबर्गबाट खेल्छन् । 

एलेक्सिस सान्चेज (चिली)
विश्वकपमा दक्षिण अमेरिकी छनोटमा चिली दसौँ स्थानमा रह्यो । दक्षिण अमेरिकी छनोटमा चिलीले यसपटक निकै खराव प्रदर्शन गरेको थियो । १८ खेलमा केवल दुई खेलमा मात्र जित निकाल्यो । ११ खेलमा हारको सामना गरेको चिलीले छनोट खेलमा ११ अंक मात्र बनायो । विश्वकप छनोट चरणमा दक्षिण अमेरिकाबाट चिली पहिलो टोलीका रूपमा बाहिरिएको थियो । स्पेनिस क्लब सेभिल्लाबाट व्यावसायिक फुटबल खेलिरहेका सान्चेजको पनि विश्वकप खेल्ने सपना पूरा भएन । फिनिसिङमा गतिलो मुभ बनाउन सक्ने सान्चेजले विश्वकप छनोटमा पनि गतिलो प्रदर्शन गर्न सकेनन् । ३७ वर्षको उमेरमा पनि उनी स्पेनिस लिगमा छाइरहेका छन् । 

भिक्टर ओसिम्हेन (नाइजेरिया)
सन् २०२३ मा नापोलीले ऐतिहासिक प्रदर्शन गरी सिरी ए लिग जित्दा भिक्टरले उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसपछि उनी गालाटासारेमा अनुबन्ध भए । टर्कीको क्लब गालाटासारेमा उनले ३० खेलमा २६ गोल गरेका छन् । उनकै प्रेरणादायी प्रदर्शनमा गालाटासारेले गत सिजन टर्किस सुपर लिग जितेको थियो । क्लबमा प्रभावशाली प्रदर्शन गर्ने भिक्टरजस्ता खेलाडी विश्वकपमा हुने छैनन् ।

सन् २०२६ विश्वकप छनोटको पहिलो समूह चरणमा नाइजेरियाले १० मध्ये पाँच खेल बराबरी खेलेको थियो । नाइजेरिया समूह विजेता दक्षिण अफ्रिकाभन्दा १ अंकले पछि रह्यो । यद्यपि, नाइजेरियाले विश्वकप आशा जीवित बनाउन प्लेअफमा स्थान बनायो । प्लेअफमा भिक्टर वैकल्पिक खेलाडीका रूपमा रहे । नाइजेरियाले कंगोसँग पेनाल्टी सुटआउटमा हारको सामना गर्यो । यो नतिजासँगै भिक्टरको पनि विश्वकप खेल्ने सपना पूरा भएन ।

सेरहोउ गुइरासी (गिनी)
युरोपियन फुटबलमा पछिल्लो पुस्ताकै प्रभावशाली स्ट्राइकरका रूपमा सेरहोउ पर्छन् । अफ्रिकी राष्ट्र गिनीका सेरहोसले बुन्डेस लिगामा उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन् ।  उनले पछिल्ला तीन सिजनमा जर्मन बुन्डेस लिगामा ६२ गोल गरेका छन् । साथै, २०२४/२५ सिजनको च्याम्पियन्स लिगमा उनले १३ गोल गरेका थिए । सन् २०२६ को विश्वकपमा उनी देखिने छैनन् । उनले प्रतिनिधित्व गरेको गिनी अफ्रिकी छनोटको पहिलो चरणमै बाहिरियो । 

सुझावित समाचार