प्रधानमन्त्री कप क्रिकेट : कोशीविरुद्ध ६ विकेटको जितसँगै पुलिस शीर्ष स्थानमा

बुधबार, १८ चैत, २०८२
डिजिटल संस्करण
  • नेपाल पुलिस, त्रिभुवन आर्मी र मधेश प्रदेशले समान सात अंक जोडेका छन्, तर राम्रो रनरेट बनाएको पुलिस शीर्ष स्थानमा उक्लिएको हो

दिनेश खरेलको घातक बलिङ प्रदर्शनको सहयोगमा नेपाल पुलिस क्लबले मंगलबार प्रधानमन्त्री एकदिवसीय (पिएम) कप क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि सानदार ६ विकेटको जित निकालेको छ । वीरगन्ज रंगशालामा पहिलो ब्याटिङ गरेको कोशीले ४२.५ ओभरमा सबै विकेट गुमाएर १६२ रन बनाएको थियो । प्रत्युत्तरमा पुलिसले ३३.५ ओभरमा चार विकेटको नोक्सानीमा १६५ रन जोड्यो । पुलिसले खेल सकिनु ९७ बलअघि जित निकालेको हो । 

विभागीय टोली पुलिसले पाँच खेलमा सात अंक जोड्दै शीर्ष स्थानमाथि कब्जा जमाएको छ । पिएम कपमा एक खेल कम खेलेको मधेश प्रदेशले चार खेलबाट सात अंक जोडेको छ । मधेश रनरेटमा दोस्रो स्थानमा रह्यो । त्रिभुवन आर्मीको पनि सातै अंक छ । पुलिस र मधेशको तुलनामा आर्मीको रनरेट कम छ । यसैकारण, आर्मी तेस्रो स्थानमा सीमित भएको हो । चौथो स्थानमा रहेको सुदूरपश्चिमले चार खेलबाट ६ अंक जोडेको छ । 

बलर दिनेशको कसिलो बलिङ
पुलिसका बलर दिनेशले कोशीविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए । उनले पाँच विकेट लिन ७.२ ओभरमा २१ रन मात्र खर्चिएका थिए । यसक्रममा उनले दुई मेडन पनि फ्याँके । कोशीसँगको खेलमा दिनेशको बलिङ इकोनोमी २.६८ रहेको थियो । दिनेशले ३६ ओभरदेखि ४२ ओभरसम्म बलिङ अवसर पाउँदा पाँच विकेट हात पारे । उनले बलिङ गर्नुअघिसम्म कोशी राम्रो अवस्थामा थियो । ३५ ओभरको समाप्तिसम्म कोशीले पाँच विकेट गुमाएर १५० रन जोडेको थियो । तर, दिनेशले प्रतियोगितामै उत्कृष्ट बलिङ स्पेल गरेपछि कोशीले अन्तिम पाँच विकेट केवल १२ रनको अन्तरमा गुमायो । ३६.१ ओभरमा कोशी १५०–६ बाट ४२.५ ओभरमा १६२–१० मा अलराउट भयो । यसक्रममा दिनेशले सोन अन्सारी, समीर कार्की, प्रेम कामत, विपिन महतो तथा ज्ञानेन्द्र श्रेष्ठको विकेट लिए । 

कोशीको फितलो ब्याटिङ
दिनेश चम्केको दिनमा कोशीले पुलिसविरुद्ध सोचेको जस्तो ब्याटिङ प्रदर्शन गर्न सकेन । इनिङ्सको सुरुदेखी कोशीको रनरेट कमजोर रहेको थियो । ओपनर सुमन श्रेष्ठले ९४ बलमा ४३ रन र अंकित सुवेदीले ४१ बलमा २६ रन बनाए । यी दुवैले पहिलो विकेटका लागि ११.२ ओभरमा ४१ रन जोडेका थिए । ११.५ ओभरमा फिर्दोष अन्सारी डकआउट भए । सागर ढकालले एकै ओभरमा दुई विकेट हात पारेका थिए । कप्तान सूर्य थपलियाले ४२ बलमा ६ चौका र दुई छक्का प्रहार गरी ४८ रनको सर्वाधिक योगदान दिए । त्यसपछि कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । सो इनिङ्समा तीन खेलाडी डकआउट भएका थिए । बलिङमा पुलिसका ललित राजवंशीले नौ ओभरमा एक मेडन राखी ३४ रन खर्चेर दुई विकेट लिए । सागर ढकालले १० ओभरमा पाँच मेडन राखी दुई विकेट लिन सफल भए । उनले केवल १४ रन मात्र खर्चेका थिए । 

१५४ रनको अविजित साझेदारी
पुलिसले सहज लक्ष्य पछ्याउँदा निकै कमजोर सुरुवात गरेको थियो । इनिङ्सको ७.६ ओभरमा पुलिसले चार विकेट गुमाएर स्कोर बोर्डमा केवल ११ रन मात्र बनाएको थियो । विपिन महतोले दुई तथा दिनेश कँडेलले एक विकेट लिँदा पुलिस पहिलो १० ओभरमै दयनीय अवस्थामा पुगेको हो । ओभर दिनेश खरेलले २ रन बनाए । शंकर राना, अमित श्रेष्ठ र दिल्साद अली डकआउट भए । त्यसपछि रसिद खान र कप्तान आरिफ सेखले पाँचौँ विकेटका लागि नटआउट १५४ रनको साझेदारी गर्दै पुलिसलाई रोमाञ्चक जित दिलाउन सफल भए । रसिदले ९० बलमा आठ चौका र एक छक्का प्रहार गरी ७३ रनको योगदान दिए । सेखले ७९ बलमा ११ चौका र एक छक्काको सहयोगमा सर्वाधिक ८१ रन जोडेका थिए । 

सुझावित समाचार