- सन् २०२३ देखि २०२६ सम्मका छनोट खेलमा नेपालले समग्रमा १४ खेल खेल्दा दुई जित, दुई बराबरी नजिता निकाल्दा १० खेलमा हारको सामना गरेको छ
नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोट प्रतियोगितामा खराब नतिजा निकालेको छ । साउदीमा हुने एसियन कपअन्तर्गत समूह ‘एफ’मा नेपालले आफ्नो अन्तिम खेलसमेत गुमाएको छ । नेपालले मंगलबार लाओससँग १–० को हार सामना गरेको हो । समूह ‘एफ’ नेपाल तीन अंकका साथ पुछारमा रह्यो । समग्रमा नेपालले सन् २०२३ देखि २०२६ को एसियन कप छनोटमा खराब प्रदर्शन गरेको छ । यो तीन वर्षको अवधिमा नेपालले कुल १४ खेलमा प्रतिस्पर्धा गर्यो । जसमा नेपालले समान दुई जित र बराबरी नतिजा निकालेको छ ।
दुईमध्ये एक जित मलेसियाको अंक खोसिँदा हात पारेको हो । गत वर्षको मार्चमै मलेसियाले छनोट खेलमा नेपालविरुद्ध गैरखेलाडी समावेश गरेका कारण एएफसीले उसको जित उल्ट्याइएको थियो । एएफसीले नेपाल ३–० ले विजयी घोषणा गर्यो । नेपालले एएफसी छनोट खेलमा अन्तिमपटक जित निकालेको भनेकै सन् २०२३ को अक्टोबरमा थियो । त्यसवेला एएफसी छनोटको राउन्ड २६ मा नेपालले लाओसमाथि १–० को जित हात पारेको थियो । त्यसयता नेपालले मैदानमा जित निकाल्न सकेको छैन । नेपालले तीन वर्षको अवधिमा यमन र लाओसलाई मात्र बराबरीमा रोकेको थियो ।
तीन वर्षमा ६ प्रशिक्षक
अखिल नेपाल फुटबल संघ (एन्फा)ले तीन वर्षभित्र एएफसी एसियन कप, साफ च्याम्पियनसिपदेखि विश्वकप छनोटसम्म ६ जना प्रशिक्षक चयन गर्यो । एएफसी र फिफाले राष्ट्रिय टोली सम्हाल्न प्रो–लाइसेन्स अनिवार्य बनाएपछि सन् २०२१ देखि स्वदेशीले मुख्य जिम्मेवारी पाएका छैनन् । सन् २०२१ मा अब्दुला अलमुताइरीले छाडेपछि नेपालमा चारजना प्रो–लाइसेन्स प्रशिक्षक बनेका छन् । थ्री स्टारलाई अन्तिमपटक लिग च्याम्पियन बनाएका प्रदीप हुमागाईंले सन् २०२२ मा एकपटक टोली हेरेका थिए । त्यसपछि तीनजना प्रो–लाइन्सेसधारी प्रशिक्षक बने । प्रवेश कटवाल, नवीन न्यौपाने र हरि खड्काले विदेशी प्रशिक्षक नआउँदासम्म कार्यवाहक जिम्मेवारी सम्हाले । सन् २०२३–२४ सम्म इटालियन भिसेन्जो अल्बटो र सन् २०२५ मा अस्ट्रेलियन म्याट रोसले जिम्मेवारी सम्हालेका थिए । विवादका कारण रोसले सम्झौता अवधि बाँकी रहँदै पदबाट राजिनामा दिए । उनीपछि इटालियन गुग्लिएल्मो एरेनाले हारेका हुन् । तर, एरेनाले हारका साथ नेपाली फुटबलमा आफ्नो यात्रालाई सुरु गरेका छन् ।
विपक्षी पोस्टमा नौ गोल
एएफसी छनोटमा खराब प्रदर्शन मात्र होइन, नेपालका खेलाडीहरूले विपक्षी पोस्टमा गोल गर्नसमेत संघर्षरत देखिएका छन् । पछिल्लो समयमा नेपालको मुख्य कमजोरी नै फिनिसिङमा कमजोरी देखिन्छ । सन् २०२३ देखि ०२६ सम्मको एसियन छनोटमा नेपालले विपक्षीविरुद्ध केवल नौ गोल गरेको थियो । यसविरुद्ध प्रतिद्वन्द्वीहरूले नेपालको पोस्टमा २९ गोल गरेका छन् । सन् २०२४ को मार्चमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको थियो । यसैगरी, सन् २०२४ को जुनमा युएईले नेपाललाई ४–० ले हरायो । सन् २०२५ को अक्टोरमा भियतनामले नेपालमाथि ३–१ को जित निकालेको थियो । सन् २०२५ को मार्चमा नेपालले यमनलाई २–२ र लाओसलाई २०२३ को अक्टोबरमा १–१ को बराबरी रोक्नु नै बहादुरी प्रदर्शन गरेको हो ।
नेपालमाथि हावी हुँदै लाओस
कुनै समय लाओस नेपालभन्दा कमजोर प्रतिद्वन्द्वीका रूपमा थियो । एन्फाभित्र आन्तरिक विवादको असर खेलमा प्रस्ट परेको देखिन्छ । विदेशी प्रो–लाइसेन्स प्रशिक्षक चयन गर्दा पनि नेपालले गतिलो नतिजा निकाल्न सकेको छैन । अहिले लाओसले नेपालविरुद्ध उत्कृष्ट खेल प्रदर्शन मात्र गरेको छैन । जित पनि निकाली नेपालमाथि हाबी भइरहेको देखिन्छ । गत वर्ष इतिहासमै पहिलोपटक नेपाल लाओससँग २–१ ले पराजित भयो । सो खेलअघिसम्म नेपाल लाओससँग अपराजित नै थियो ।
मंगलबार नेसनल रंगशालामा नेपालले बल पोसेसन बलियो बनाए पनि गोलका लागि संघर्ष गरेको देखिन्थ्यो । मुख्य गरी नेपालको कमजोर पक्ष ‘अट्याकिङ थर्ड’ थियो । पहिलो हाफमा नेपालले लाओसलाई गोलरहित बराबरीमा रोकेको थियो । तर, लाओसको ‘पेस’लाई थेग्न नसकेको नेपालले खेलको ४८औँ मिनेटमा गोल खायो । लाओसका लागि कप्तान बोउनफाचन बोउनकोङले १–० को निर्णायक गोल गरे । चोनी वेनपासेर्थको थ्रु पासमा बोउनफाचनले नेपालका गोलरक्षक तथा कप्तान किरणकुमार लिम्बूलाई बिट गर्दै दोस्रो बारमा सुन्दर गोल गरेका थिए ।
नेपालबाट खेल अवधिभर केवल एक मात्र ‘सट्स अन टार्गेट’ बनाएको थियो । खेलको ४२औँ मिनेटमा मनीष डाँगीले दुईपटक गोलका लागि प्रयास गरेका थिए । तर उनको प्रहार फ्रेममा थिएन । प्रशिक्षक एरेनाले स्ट्राइकर युवराज खड्का र मिडफिल्डर पेम्बा दोर्जे लामालाई अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गराए । युवराज र पेम्बासहित पाँचजना खेलाडी यसपालि पहिलोपटक राष्ट्रिय टोलीमा छनोट भएका थिए । युवराजले पहिलो रोजाइमै मौका पाए । पेम्बाले भने दोस्रो हाफमा दीपेश गुरुङलाई प्रतिस्थापन गरे ।