तातोपानी सधैँ खुला, रसुवा महिनामा १५ दिन बन्द हुने

उत्तरी नाका तातोपानी र रसुवागढीमा आयात–निर्यात गर्न नयाँ कार्यतालिका

बुधबार, १८ चैत, २०८२
डिजिटल संस्करण

चीनसँगको उत्तरी नाका तातोपानी र रसुवागढीमा आयात–निर्यात गर्न नयाँ कार्यतालिका लागू गरिने भएको छ । रसुवागढीदेखि स्याफ्रुबेँसीसम्म सडक विस्तार गर्न लागिएकाले महिनामा १५ दिन सवारीसाधन आवतजावत बन्द हुँदै छ । 

चिनियाँ कम्पनीले सडक विस्तारको काम गर्न प्रत्येक अंग्रेजी महिनाको १ देखि १५ तारिखसम्म सवारी गुड्न निषेध गर्ने भएको छ । बाँकी १५ दिन नाका सुचारु रहनेछ । सडक विस्तार गर्न एक वर्ष लाग्ने अनुमान गरिएको छ । अप्रिल १ तारिखबाट काम सुरु गरेर २०२७ अप्रिल १५ सम्म काम सम्पन्न गर्ने चिनियाँ कम्पनीको लक्ष्य रहेको सिँगात्से सरकारले बताएको छ ।

यता तातोपानी नाका भने सधैँ खुला रहनेछ । तर, प्रत्येक महिनाको २० दिन कम र १० दिन बढी कन्टेनर तातोपानी भन्सार यार्डमा आइपुग्ने कार्यतालिका रहेको जाङ्मुपोर्ट भन्सारले जनाएको छ । २०२७ भित्र नयाँ खासा सहर नेपालीका लागि खुला गर्ने तयारी छ । सोहीअनुसार खासा पुनर्निर्माण चाँडो सक्न चिनियाँ कम्पनीले खासाभित्र वेला–वेलामा सडक बन्द गर्ने कार्यतालिका बनाएको छ । तर, तातोपानी नाका भने गुलजार नै रहनेछ ।

तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले तातोपानी नाका गुलजार रहेको बताए । सामाजिक सञ्जालमा तातोपानी नाका आंशिक खुला भनेर आएको हल्लाप्रति आफ्नो ध्यानाकर्षण भएको उनले बताए । रसुवापट्टि सडकको काम सुरु भएकाले तातोपानी नाकामा आयात र पर्यटकको चाप बढेको उनले प्रस्ट्याए । ‘चिनियाँ समकक्षीसँग औपचारिक बैठक भएको त छैन,’ उनले भने, ‘तर, नाका पूर्ण रूपमा खुला रहनेछ । ठुला हाइड्रोपावरसँग सम्बन्धित उपकरण र सामान, रेडिमेड, इलेक्ट्रोनिक्स सामग्री, फलफूल र विद्युतीय गाडी आयात भइरहेको छ ।’ पहिरोले सडक बन्द हुँदा यो वर्ष बर्खामा झन्डै तीन महिना आयात ठप्प भयो । जसको प्रभाव राजस्व संकलनमा पर्यो । २४ अर्ब ४७ करोड ५५ लाख राजस्व संकलन गर्ने लक्ष्य ५० प्रतिशत मात्रै पूरा हुने देखिएको छ । राजस्व संकलनको अवस्था देखाउँदै भन्सार अधिकृत रमेशबहादुर शाहले भने, ‘१५ चैतसम्म नौ अर्ब ६६ करोड २२ लाख उठेको छ ।’ पहिरोले सडक रोकिँदा खासाबाट डाइभर्ट भएर झन्डै नौ अर्ब राजस्व मुस्ताङको कोरोला नाकामा संकलन भएको उनले बताए ।

कन्टेनर आवतजावत, नेपाली पक्षलाई चिनियाँ क्षेत्रमा पुगेर सामान खरिद र चिनियाँ नागरिकलाई प्रवेश अनुमतिमा कुनै समस्या छैन । यद्यपि, अन्य पर्यटकलाई हालका लागि नाका बन्द गरिएको छ । महिनाको १५ दिन रसुवा नाका बन्द हुने भएकाले कैलाशमान सरोवर जाने भारतीय तीर्थयात्रीलाई तातोपानीबाट प्रवेश अनुमति दिने तयारी भएको अध्यागमन कार्यालय कोदारीले जानकारी दिएको छ । तर, भौगोलिक अवस्थाले सडक यातायात भने कठिन हुनेछ । बर्खा सुरु भएकाले लिपिङबाट बाह्रबिसेसम्म २६ किलोमिटर सडक कन्टेनरका लागि कष्टकर हुनेछ । बाह्रबिसेबाट लिपिङसम्म सडक विस्तार र इको पहिरो नियन्त्रण दुवै निर्माणकार्य एकसाथ भइरहेकाले मुख्य वर्षाअघि नै सडकको दुरावस्था हट्ने सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायण भण्डारीले बताए ।

सुझावित समाचार