एक अर्ब १० करोडमा नागढुंगा सुरुङमार्ग सञ्चालनको ठेक्का चिनियाँ कम्पनीलाई

वैशाख अन्तिममा परीक्षण, साउन पहिलो सातादेखि व्यावसायिक सञ्चालन

मंगलबार, १७ चैत, २०८२
डिजिटल संस्करण

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको ठेक्का चिनियाँ संलग्न ज्वाइन्ट भेन्चर कम्पनी युक्सिन–एआरटीले पाउने भएको छ । सडक विभागअन्तर्गतको परियोजना कार्यालयले सोमबार सुरुङमार्ग सञ्चालनको ठेक्का पाँच वर्षका लागि युक्सिन–एआरटीलाई दिने गरी आशयपत्र जारी गरेको हो ।

करसहित एक अर्ब १० करोड ४० लाख ३७ हजार रुपैयाँमा ठेक्का दिने गरी आशयपत्र जारी गर्दै विभागले दाबी विरोधका लागि एक साताको समय दिएको छ । त्यसपछि परियोजनाले १५ दिनको समय दिएर युक्सिन–एआरटीलाई ठेक्का सम्झौताका लागि बोलाउनेछ । कुनै अवरोध नआएमा अबको २२ दिनमा ठेक्का सम्झौता हुने विभागले जनाएको छ । ठेक्का रकमअनुसार परियोजना सञ्चालमा वार्षिक औसत २२ करोड खर्च हुनेछ । विभागले वार्षिक ३५ करोड लागत लाग्ने अनुमान गरेको थियो । 

परियोजनाका निर्देशक सौजन्य नेपालले युक्सिन–एआरटीलाई सुरुङमार्ग सञ्चालन ठेक्का दिने गरी आशयपत्र जारी भएको बताए । ‘दाबी विरोधका लागि सात दिनको समय दिइएको छ । त्यसपछि सम्बन्धित कम्पनीलाई ठेक्का सम्झौताका लागि १५ दिनको समय दिएर सूचना आह्वान गर्नेछौँ,’ उनले भने, ‘नियमित प्रक्रियामा काम भएमा अबको २१–२२ दिनमा ठेक्का सम्झौता हुनेछ ।’

नेपालमा सुरुङमार्ग सञ्चालन गरेको अनुभव कुनै पनि निकाय तथा कम्पनीसँग छैन । सडक विभागले पनि जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनसँग निर्माणसम्बन्धी मात्रै काम गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । सोही कारण विभागले सुरुङमार्ग सञ्चालनमा पहिलो पाँच वर्षका लागि विदेशी सेवाप्रदायक कम्पनी ल्याउने गरी १६ कात्तिकमा बोलपत्र आह्वान गरेको थियो । त्यसमा विदेशी कम्पनीले नेपाली कम्पनीलाई संयुक्त उपक्रममा अनिवार्य राख्नुपर्ने सर्त थियो । सर्तअनुसार विभिन्न १० कम्पनीले प्रस्ताव पेस गरेको प्राविधिक रूपमा सात कम्पनी उत्तीर्ण भएका थिए । 

सडक विभागले आगामी वैशाखको अन्तिम साता सुरुङमार्गलाई ट्रायल (परीक्षण)का रूपमा सञ्चालन गर्ने लक्ष्य लिएको छ । साउन पहिलो साताभित्र सुरुङमार्गलाई व्यावसायिक रूपमा सञ्चालन गर्ने लक्ष्य लिइएको छ । वैशाख पहिलो साता सर्भिस प्रोभाइडर कम्पनी युक्सिन–एआरटीसँग ठेक्का सम्झौता गर्ने विभागको तयारी छ । सम्झौता गरेको १५ दिनभित्र उक्त कम्पनी फिल्डमा परिचालन भइसक्नुपर्नेछ । सम्झौता गरेको तीन महिनामा सुरुङमार्गलाई सञ्चालनमा ल्याउनुपर्नेछ । 

नयाँ ठेकेदार फिल्डमा परिचालन हुनका लागि हाल परियोजना निर्माण गरिरहेको जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले सरकारलाई परियोजना हस्तान्तरण गर्नुपर्नेछ । त्यसपछि सरकारले सर्भिस प्रोभाइडर कम्पनीलाई परियोजना हस्तान्तरण गर्नेछ । जापानिज कम्पनीलाई दिइएको ठेक्काको म्याद १२ वैशाखसम्मको छ । हाल परियोजनाको निर्माण सक्किसकेको छ । अब टोल बुथको अन्तिम चरणको मात्रै काम गर्न बाँकी छ । त्यसो हुँदा १२ वैशाखअघि नै जापानिज कम्पनीले परियोजना हस्तान्तरण गर्नेछ । त्यसलगत्तै सर्भिस प्रोभाइडर कम्पनी फिल्डमा परिचालन हुनेछ । र, वैशाखमै परीक्षणका रूपमा सुरुङमार्ग सञ्चालन गराउने तयारी छ । ठेक्काप्राप्त कम्पनीले आवश्यक तयारी गरेर ठेक्का सम्झौता गरेको तीन महिनामा सुरुङमार्ग सञ्चालन गर्नुपर्छ । तीन महिनामा परियोजा हस्तान्तरण, कर्मचारी व्यवस्थापन, सफ्टवेयर जडान, टेलिफोन जडान, तालिमलगायतका तयारी गर्नुपर्नेछ । परियोजना प्रमुख नेपालले ढिलोमा पनि साउन पहिलो सातामा सुरुङमार्ग सञ्चालनमा आउने बताए । 

सुझावित समाचार