उहिल्यै इंग्ल्यान्डमा नेल्सन नामका एक १२ वर्षीय बालक थिए । उनका मामा जहाजका नाबिक थिए । उनी पनि सानै उमेरमा आफ्ना मामासँगै जहाजमा गएर काम सिक्न थाले । बिस्तार–बिस्तारै उनी एक चतुर नाबिक बने ।जब उत्तरी धु्रवको खोजका लागि रेसहर्स नामक जहाज पठाइयो, तब नेल्सनले पनि सो जहाजमा नाबिकका रूपमा काम गर्ने अवसर पाए । उनी खुसीसाथ सो यात्रामा निस्किए । उत्तरी ध्रुव प्रदेशमा समुद्रलाई बर्फिलो चट्टानले ढाकिरहन्थ्यो र हरसमय समुद्रमा भयंकर जीवजन्तुको आक्रमण हुने भय रहन्थ्यो ।
एक दिन जहाज अड्याएर राखिएको थियो । नेल्सन आफ्ना एकजना साथीसँग घुम्नका लागि निस्किए । केही टाढा पुगेपछि उनको एउटा भयानक भालुसँग मुठभेड भयो । नेल्सन त्यस भालुलाई निसाना बनाएर दनादन गोली बर्साउन थाले, जबकि उनका साथी कप्तान अन्य नाबिकलाई खबर गर्न जहाजतिर दौडिए ।
छालका कारण नेल्सनको एउटा पनि गोली भालुको निसाना लागिरहेको थिएन । केही क्षणमा उनको सबै गाली समाप्त भयो । फेरि पनि उनी डराएनन् र त्यहाँबाट भागेनन्, बरु निर्भयतापूर्वक बन्दुकको कुन्दाले भालुलाई हिर्काउँदै गए ।
केही समयपछि जहाजका कप्तान त्यहाँ पुगे । उनले एक गोली प्रहार गरेर भालुलाई मारिदिए । त्यसरी गोली सकिएपछि पनि भालुसित जुधिरहेका नेल्सनको साहस देखेर कप्तान अचम्ममा परे । कप्तानले नेल्सनसँग सोधे, ‘किन तिमीलाई भालुसँग डर लागेको थिएन ?’ ‘बिल्कुलै लागेन । म यो भालुको छाला आफ्नो बाबुका लागि लिएर जानेछु,’ नेल्सनले मुस्कुराएर भने । यिनै बहादुर बालक नेल्सन ठुला भएपछि ब्रिटिस फौजका सेनापति बने । यिनकै वीरताका कारण वाटरलुको मैदानमा नेपोलियनको हार भयो ।