अविरल बर्षापछी आएको रोशी खोलाको बाढीले बगाएर एकजना बेपत्ता भएका छन्।बाढीमा फसेका मानिसहरूलाई सहयोग गर्न जानेक्रममा बाढीले बगाएको हो। स्थानीय चन्द्रबहादुर लामाका अनुसार शुक्रबार बेलुका करिब ७/८ बजेको समयमा रोशी गाउँपालिका–७ का करिब ४२ वर्षीय कुन्साङ तामाङलाई बाढीले बगाएको हो। रोशी गाउँपालिका–८ चारसयबेशीबाट तामाङलाई बगाएको जानकारी प्राप्त भएको स्थानीय लामाले बताए ।
रोशी क्षेत्रमा शुक्रबार दिउँसो असिनापानी परेको थियो। भिषण वर्षापछि आएको बाढीमा ८ जना मानिस फसेका थिए। फसेका मानिसलाई खोला तार्न जानेक्रममा बाढीले बगाएको स्थानीयले जानकारी दिए।
प्रहरीचौकी कटुञ्जेका अनुसार मानिसलाई बाढीले बगाएको भन्ने खबर आएको र सो स्थानमा प्रहरी जाँदै गरेका छन्। घटनास्थलमा पुगेपछी बिस्तृत जानकारी दिने प्रहरीले जनाएका छन्।