नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहकाे शपथ १२:३४ बजे

प्रधानमन्त्रीसँगै मन्त्रीहरूले पनि शपथ लिने

शुक्रबार, १३ चैत, २०८२
डिजिटल संस्करण

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले १२:३४ बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गाेपनीयताकाे शपथ लिँदै छन् । शपथग्रहण समारोहमा सातवटा शंखबाट शंखनाद गरिनेछ । त्यस्तै, १०८ बटुकबाट स्वस्तिशान्ति वाचन र १६ बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिनेछ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले पनि शपथको तयारी भइरहेको बताए । ‘राष्ट्रपति कार्यालयको प्रांगणमा शपथ हुन्छ, सबै तयारी भइरहेको छ,’ उनले भने ।

नवनियुक्त प्रधानमन्त्री शाहसँगै मन्त्रीहरूले पनि शपथ लिनेछन् । मन्त्रीहरूकाे नाम लगभग टुंगाे लागिसकेकाे छ ।  राष्ट्रपति पौडेलले रास्वपाका वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन्।

यस्ताे छ बालेन शाह नेतृत्वको मन्त्रिमण्डल 

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)काे नेतृत्वमा आज नयाँ मन्त्रिमण्डल गठन हुँदै छ । जसमा प्रधानमन्त्रीसहित रक्षा मन्त्रालयको जिम्मेवारी स्वयं शाहले सम्हाल्ने छन् ।

स्वर्णिम वाग्लेको सचिवालयले दिएको जानकारीअनुसार  डा. स्वर्णिम वाग्ले अर्थमन्त्री, सुदन गुरुङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सोविता गौतम कानुनमन्त्री, सस्मित पोखरेल शिक्षामन्त्री, सुनील लम्साल भौतिक पूर्वाधार तथा यातायात, प्रतिभा रावल सामान्य प्रशासन/भूमि, सहकारी तथा गरिबी निवारण, सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, अमरेशकुमार सिंह उद्योग, वाणिज्य तथा आपूर्ति, विराजभक्त श्रेष्ठ, ऊर्जा जलस्रोत तथा सिँचाइ, निशा मेहता, स्वास्थ्य तथा जनसंख्या, गनेश पौडेल संस्कृति/पर्यटन, डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना, दीपक शाह श्रम, रोजगार तथा सामाजिक सुरक्षा र गीता  चौधरी कृषि तथा पशुपंक्षीमन्त्री बन्ने भएका छन् । 

२:१५ बजे सिंहदरबारमा पदबहाली : प्रधानमन्त्री कार्यालयले केही मन्त्रालयसँग माग्यो सुधारका पाँच–पाँच एजेन्डा 
शपथपछि बालेनले २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदबहाली गर्ने कार्यतालिका छ । प्रधानमन्त्रीको पदभार ग्रहणका लागि तयारी भइसकेको मुख्यसचिव सुमनराज अर्यालले जानकारी दिए । पदबहालीपछि प्रधानमन्त्रीको निर्देशनअनुसार काम हुने पनि उनले बताए । भोलि नै मन्त्रिपरिषद् बैठक बस्ने सम्भावनाको विषय पनि प्रधानमन्त्रीको निर्देशनअनुसारै हुने मुख्यसचिव अर्यालको भनाइ छ । 

प्रधानमन्त्री कार्यालयले नयाँ प्रधानमन्त्री र मन्त्रिपरिषद् गठन भएपछि त्यहाँबाट निर्णय गर्ने गरी केही मन्त्रालयहरूसँग सुधारका कम्तीमा पाँच–पाँचवटा एजेन्डा मागेको छ । ती एजेन्डा तततत् मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा पठाएका छन् । तिनलाई पनि प्रधानमन्त्री कार्यालयले समेटेर नयाँ प्रधानमन्त्री र मन्त्रिपरिषदमा पेस गर्ने तयारी गरेको छ ।

मुख्यसचिव सुमनराज अर्यालले प्रधानमन्त्रीका लागि कार्यालयका तर्फबाट आवश्यक तयारी र व्यवस्थापन भइसकेको बताए । उनका अनुसार प्रधानमन्त्रीका लागि कार्यकक्ष र मन्त्रिपरिषद् बैठक बस्ने पूर्वाधारको प्रबन्ध गरिएको छ । मन्त्रिपरिषद् बैठकका लागि भने सम्भावित आकार हेरेर विकल्पसहित हलको व्यवस्थापन गरिएको छ । बिहीबार दिउँसो बालेनको तर्फबाट एक टोली प्रधानमन्त्री कार्यालय हेर्नसमेत गएको थियो । कार्यालयमा बालेनका लागि वास्तुअनुसार सामान्य आसन परिवर्तन गरिएको छ ।

See More On

सुझावित समाचार