केही दिनअघि रुकुम पश्चिमको भाइरल पुलबाट हाम फालेर मृत्यु भएका १७ वर्षीय भाइ महेन्द्र वलीको काजकिरिया सकेर तुलसीपुर– १९, दोघर्रेस्थित घरमा आएका एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । ३४ वर्षीय गोपाल वलीले बिहीबार आफ्नै श्रीमतीकाे हत्या गरेका हुन् । रुकुम पश्चिम त्रिवेणी गाउँपालिका– १०, सालघारीबाट भाइको काजकिरिया सकेर बुधबार मात्रै घर आएका उनले बिहीबार साँझ साढे ७ बजेतिर श्रीमती २७ वर्षीया कमला वलीको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार धारिलो हतियार प्रहार गर्दा टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते भएकी कमलालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनीहरूबिच लामो समयदेखि पारिवारिक विवाद थियो । पारिवारिक स्रोतका अनुसार उनीहरूबिच लामो समयदेखि अदालतमा मुद्दासमेत चलिरहेको थियो । गोपाल सरकारी कर्मचारीसमेत हुन् । उनी जिल्लाभन्दा बाहिर कार्यक्षेत्र भएकाले कहिलेकाहीँ मात्रै आउँथे ।
उनीहरूबिच अदालतमा मुद्दा चल्न थालेपछि उनी घर आउने क्रम झनै पातलिएको थियो । उनीहरूका करिब नाै वर्षीय छोरा र ६ वर्षीया छोरी छन् । गोपालका एक भाइ एक वर्षअघि मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते छन् ।