लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्डमा पहिलो

शुक्रबार, १३ चैत, २०८२
डिजिटल संस्करण

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले न्यूनतम सेवा मापदण्ड मूल्यांकन (एमएसएस)मा लगातार उत्कृष्ट नतिजा प्राप्त गरेको छ । अस्पतालले यस वर्ष पनि सेकेन्डरी ‘बी’ लेभल अस्पतालहरूको मूल्यांकनमा सुधार गर्दै ९० अंकसहित लगातार तेस्रोपटक नेपालमै पहिलो बनेको छ । गत वर्ष ८९ अंक प्राप्त गर्दै सो अस्पताल देशकै प्रथम भएको थियो । अस्पतालमा आयोजित सेवा मूल्यांकन समीक्षा कार्यक्रममा उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्तिलगायतबारे जानकारी गराइएको थियो । भक्तपुर अस्पतालले समेत समान ९० अंक प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारूले जनताले महसुस गर्ने गरी काम गर्न निर्देशन दिए । उत्कृष्टता हासिल गर्नुभन्दा पनि यसलाई निरन्तरता दिनु चुनौतीपूर्ण भएको बताउँदै उनले थप सुधारका काममा लाग्न आग्रह गरे । स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रोशनलाल चौधरीले सेवालाई थप विस्तार र विशिष्टीकृत गर्दै लैजान आग्रह गरे । प्रदेश सरकारले अस्पतालका लागि आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा बजेट व्यवस्थापनमा तयार रहेको उल्लेख गरे ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. इन्द्र ढकालले न्यूनतम स्वास्थ्य सेवा मापदण्ड मूल्यांकनमा प्राप्त अहिले नतिजा पर्याप्त नभएको उल्लेख गर्दै थप सुधारका योजनासाथ काम गरिरहेको उल्लेख गरे । उनले न्यूनतम सेवा मूल्यांकनका मादण्डअनुसारका आधारभूत कुराको व्यवस्थापनमा सरकारले समेत ध्यान दिनुपर्नेमा जोड दिए । सरकारले नीति बनाउँदा कार्यान्वयनको पाटोलाई समेत ध्यान राख्न आग्रह गरे । अस्पतालको निर्माणाधीन भवनबाट स्वास्थ्य सेवा सञ्चालनका लागि अहिलेदेखि नै सञ्चालन कार्यविधि (ओएमएस) निर्माण गर्नुपर्नेमा ढकालले जोड दिए ।

सुझावित समाचार