ज्योति विकास बैंकले वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मनी विकका अवसरमा बैंकले युवा तथा लक्षित वर्गलाई वित्तीय जानकारी दिन एक सातासम्म वित्तीय साक्षरता र सचेतनाका कार्यक्रम आयोजना गरेको हो । यस अभियानमार्फत करिब दुई हजार दुई सयभन्दा बढी व्यक्ति प्रत्यक्ष रूपमा लाभान्वित भएको बैंकको भनाइ छ ।
बैंकका प्रादेशिक तथा क्लस्टर कार्यालयअन्तर्गतका विभिन्न शाखा कार्यालयमार्फत सोही क्षेत्रका विद्यालय तथा कलेजमा आधुनिक बैंकिङ, बैंक तथा वित्तीय संस्थाका मुख्य कार्यबारे जानकारी दिइएको थियो । त्यसैगरी, वित्तीय अनुशासन, आवश्यकता तथा चाहना, वित्तीय लक्ष्य, बचत, लगानी, खर्च, विद्युतीय वित्तीय सेवा, नगदरहित कारोबार, धितोपत्र बजार, विद्युतीय ठगी, ओटिपीसम्बन्धी जानकारी पनि दिइएको छ ।