स्थानीयको पहलमा थोपल खोलामा पुल बन्दै

बुधबार, ११ चैत, २०८२
डिजिटल संस्करण
स्थानीयको पहलमा थोपल खोलामा पुल बन्दै

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ र १३ जोड्ने पहरेभिर कोत्रेमा निर्माणाधीन पुल ।

धादिङको नीलकण्ठ नगरपालिकाअन्तर्गत थोपल खोलामा स्थानीयवासीको पहलमा पुल निर्माण सुरु गरिएको छ । लामो समयदेखि पुल निर्माणको माग गरिए पनि सम्बन्धित निकायले चासो नदेखाएपछि स्थानीयले आफैँ सहयोग संकलन गरी पहरेभिर कोत्रेस्थित थोपल खोलामा पुल निर्माण थालेका हुन् । 

नीलकण्ठ नगरपालिकालगायत अन्य सरोकारवाला निकायसँग थोपल खोलास्थित पहरेभिर–कोत्रे क्षेत्रमा पटक–पटक पुल निर्माणको माग गरिए पनि अहिलेसम्म कुनै योजना परेको छैन । तर, आवतजावतमा अति नै समस्या भएपछि सहयोग जुटाएर पुल बनाउन थालेको स्थानीय विष्णु श्रेष्ठले बताए । ‘निर्माण भइरहेको पुलका लागि हाल जग तथा म्यासोनरी पर्खाल लगाउने काम भइरहेको छ । दुवैतर्फ जग बसाल्ने, खोलाको बिचभागमा पिल्लर राख्ने र माथि फलामको पाता राख्ने तयारी गरिएको छ,’ उनले भने । 

‘पञ्चायतकालदेखि झोलुंगे पुल बनाउन सर्भे गरिए पनि अहिलेसम्म पुल बनेन । कतैबाट योजना नपरेपछि हामी आफैँले रकम जुटाएर काम सुरु गरेका हौँ । प्राविधिक मूल्यांकनअनुसार पुल निर्माणका लागि करिब १५ लाख रुपैयाँ लागत लाग्ने अनुमान छ,’ उनले थपे, ‘मैले निर्वाचन प्रहरीको रूपमा काम गर्दा पाएको तलब ४८ हजारमा २२ हजार थपेर ७० हजार रुपैयाँ सहयोग गरेको छु । अन्य स्थानीयले पनि आ–आफ्नो क्षमताअनुसार सहयोग गरिरहनुभएको छ ।’

पुल निर्माणमा स्थानीयको सक्रियता बढेपछि सहयोगी हातहरू पनि बढेको स्थानीय होमनारायण श्रेष्ठ बताउँछन् । ‘सबैले सहयोग गर्छाैँ भनिरहेका छन् । रसिद छाप्न दिएका छौँ, केही दिनबाट रकम संकलन दु्रत रूपमा अघि बढ्छ । विकास निर्माणको काम हो । पुल बने हामी स्थानीयहरूलाई नै सहयोग पुग्ने हो । सबैले सकेको सहयोग गरे चाँडै नै यो पुल बन्छ,’ उनले भने । 

पहरेभिर कोत्रेस्थित थोपल खोलामा पुल बन्ने भएपछि बुद्धसिंह तामाङले पनि पाँच हजार सहयोग गरेका छन् । ०७२ को भूकम्पले आफ्नो थातथलो छाडेर विस्थापित भई उनी सालबोटेमा बस्दै आएका छन् । छरछिमेकी सबै मिलेर थालेको पुण्यको काममा हातेमालो गर्न सहयोग गरेको उनले बताए । 

सुझावित समाचार