वीरगन्ज महानगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत कँडेल एक महिनासम्म पनि हाजिर भएनन्

मंगलबार, १० चैत, २०८२
डिजिटल संस्करण

संघीय  मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रेशमलाल कँडेलको वीरगन्ज महानगरपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा भए पनि हालसम्म हाजिर नभएको कार्यालयले जनाएको छ । 

लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालित महानगरमा गत फागुन १२ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार सरुवा भएका सहसचिव कँडेल अहिलेसम्म हाजिर नभएको महानगरपालिका कार्यालयले जनाएको हो । 

हाजिर हुन बाँकी रहेका कर्मचारीहरूलाई मन्त्रालयले फागुन १६ मा सूचना जारी गर्दै सरुवा भएका आ–आफ्नो कार्यक्षेत्रमा जानलाई पत्राचार गरे पनि प्रमुख प्रशासकीय अधिकृत कँडेल महानगरपालिका कार्यालयलमा हाजिर नभएको नगरप्रमुखको सचिवालयले जनाएको छ । 

महानगरपालिकाका नगरप्रमुखका प्रेस सल्लाहकार नवराज फुयाँलले सहसचिव कँडेलको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा भएको झन्डै एक महिना हुन लाग्दा पनि महानगरपालिका कार्यालयमा हाजिर नभएको जानकारी दिए।उनका अनुसार महानगरपालिका कार्यालयमा सहसचिव कँडेल कहिले आउने कि नआउनेबारेमा आधिकारिक रूपमा जानकारी पनि नभएको अवस्था छ । 

वीरगन्ज महानगरपालिका कार्यालयको निमित प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले नै अहिले कार्यालय सञ्चालन गर्दै आइरहेको अवस्था छ ।कर्मचारीहरूका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णको ठाउँमा अर्को अधिकृत आउन लागेको सूचना पाएदेखि कामकारबाहीमा आलटाल गरिरहेका छन् । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्ण अहिले महानगरपालिका कार्यालयको प्रशासनिक कामकारबाहीमा ढिलाइ र आलटाल गरिरहेको अवस्था छ ।  संघीय  मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव नीता पोखरेल अर्यालले सरुवा भएका प्रमुख प्रशासकीय अधिकृतहरू जाने क्रममा रहेकाले केही दिनमा पुग्ने जानकारी गराइन् ।

सुझावित समाचार