वन डढेलो सप्ताह ०८२ को अवसरमा वन डढेलो व्यवस्थापनसम्बन्धी राष्ट्रियस्तरको बहुसरोकारवाला संवाद सोमबार काठमाडौंमा भएको छ। वन तथा वातावरण मन्त्रालयले खाद्य तथा कृषि संगठन, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल तथा रिकफ्ट नेपालसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा नेपालमा बढ्दो वन डढेलो जोखिम, त्यसका कारण, प्रभाव तथा नियन्त्रणका लागि आवश्यक रणनीतिबारे विस्तृत छलफल भएको छ।
कार्यक्रममा पछिल्ला वर्षहरूमा बढ्दो तापक्रम, लामो खडेरी, जलवायु परिवर्तन र वनभित्र थुप्रिएको सुक्खा जैविक पदार्थका कारण वन डढेलोको आवृत्ति र तीव्रता दुवै बढ्दै गएको निष्कर्ष प्रस्तुत गरिएको थियो।
वन मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले वन डढेलोबाट हुने आर्थिक, भौतिक तथा वातावरणीय क्षतिबारे वैज्ञानिक अध्ययनलाई प्राथमिकता दिनुपर्ने बताए। वन मन्त्रालयका योजना, अनुगमन तथा समन्वय महाशाखा प्रमुख डा. राजेन्द्र केसीले संघीय, प्रादेशिक र स्थानीय तहबिच समन्वयबिना प्रभावकारी नियन्त्रण सम्भव नहुने धारणा राखे।
सशस्त्र प्रहरी बल नेपालका विपत् व्यवस्थापन शाखा प्रमुख राजेश उप्रेतीले सीमित स्रोत साधनका कारण उद्धार तथा नियन्त्रण कार्यमा चुनौती बढिरहेको उल्लेख गर्दै दक्ष जनशक्ति, वित्तीय स्रोत र प्रविधि विस्तार आवश्यक रहेको बताए।
विनयी–त्रिवेणी गाउँपालिका, नवलपुरका अध्यक्ष घनश्याम गिरीले जैविक पदार्थ व्यवस्थापन, संरक्षण पोखरी निर्माण तथा मर्मतमार्फत वन डढेलो जोखिम न्यूनीकरणका प्रयास गरिरहेको बताए। साथै, निजी क्षेत्रसँगको सहकार्यमार्फत जैविक पदार्थको उपयोग गरी दहनशील पदार्थ घटाउनुका साथै स्थानीय समुदायका लागि आम्दानीका अवसर सिर्जना गरिएको उनले बताए।
संवादमा राष्ट्रिय वन डढेलोको अवस्था, डढेलो व्यवस्थापनका चुनौतीहरूबारे प्रस्तुतिहरू गरिएको थियो। साथै ‘अग्नि त्रिभुज’ अवधारणा र ‘एकीकृत डढेलो आगलागी व्यवस्थापन’ दृष्टिकोणका आधारमा कारणहरू, नीतिगत खाडल, सामुदायिक अभ्यास तथा सरोकारवालाहरूको भूमिकाबारे अन्तरक्रियात्मक छलफल गरिएको थियो, जसलाई वन विज्ञान अध्ययन संस्थानका प्राडा राजेश राईले सहजीकरण गरेका थिए।
नेपालमा वन डढेलो बढ्दो वातावरणीय चुनौतीका रूपमा छ। बढ्दो तापक्रम, लामो समयसम्मको खडेरी, जलवायु परिवर्तन तथा वनमा थुप्रिएर रहेका सुख्खा जैविक इन्धनले डढेलोको आवृत्ति र तीव्रता दुवै बढाएको छ। यस्ता डढेलोले वन विनाश, जैविक विविधताको क्षति तथा वायुको गुणस्तरमा समेत गिरावट ल्याउने काम गरिरहेका छन्।
कार्यक्रममा राष्ट्रिय वन डढेलोको अवस्था, नीतिगत कमजोरी, समुदायको भूमिका र ‘एकीकृत डढेलो आगलागी व्यवस्थापन’ अवधारणाबारे छलफल गर्दै आगामी दिनमा सरकार, समुदाय, नागरिक समाज र सञ्चारमाध्यमबिच समन्वित प्रयास बलियो बनाउन व्यावहारिक सुझाव तय गरिएको मन्त्रालयले जनाएको छ।