चौथो संस्करणको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८२ (गण्डकी प्रदेश अन्तरपालिकास्तरीय पुरुष तथा खुला महिला भलिबल तथा छेलो हान्ने प्रतियोगिता) ११ चैतदेखि सुरु हुने भएको छ।
‘पर्यटन, कृषि, ऊर्जा र गुणस्तरीय पूर्वाधारः समुन्नत माछापुच्छ्रे निर्माणको मूल आधार’ भन्ने नारासहित माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजना एवं वडा नम्बर ४ को व्यवस्थापन तथा माछापुच्छ्रे गाउँपालिका भलिबल संघको संयोजनमा ११ देखि १४ चैतसम्म प्रतियोगिता हुने भएको आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।
माछापुच्छ्रे– ४ लाहाचोकस्थित महेन्द्र माविको खेल मैदानमा हुने प्रतियोेगितामा पुरुषतर्फ प्रथम हुनेले दुई लाख, दोस्रोले एक लाख र सेमिफाइनलमा उपविजेता दुई टिमले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए।
यसैगरी, महिलातर्फ प्रथमले ६० हजार, दोस्रोले ३० हजार र सेमी फाइनलमा उपविजेता दुई टोलीले जनही १५ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्। महिला, पुरुष दुबैतर्फ विधागत रूपमा उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोसाक दिइनेछ।
प्रतियोगितामा सहभागिताका लागि सोमबारसम्म १६ पुरुष र आठ महिला गरी २४ टिमले नाम दर्ता गरेका आयोजक पालिकाका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन्। प्रतियोगितामा सहभागिताका लागि मंगलबार ३ बजेसम्म टिम दर्ता गर्न सकिने भएकाले सहभागी टोलीको संख्या अझै बढ्न सक्ने उनले बताइन्।
छेलो प्रतियोगितामा प्रथम हुनेले १० हजार, दोस्रोले पाँच हजार, तेस्रोले दुई हजार र सान्त्वना स्थान हात पार्नेले एक हजार नगद पुरस्कार पाउने प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले जानकारी दिए। माछापुच्छ्रे ४ का अध्यक्ष मधुसुधन अधिकारीले प्रतियोगितामा सहभागी हुन आउने खेलाडीहरूको लागि वडामा रहेका होम स्टेसँगै होटेलहरूमा खानेबस्ने प्रबन्ध गरिएको बताए। पालिकामा घुम्नको लागिसमेत धेरै स्थान रहेको र खेलाडीहरूलाई घुम्ने व्यवस्थासमेत रहेकाले प्रतियोगिता पर्यटनसँग समेत जोड्न खेजिएको उनले बताए।
पालिका खेलकुद विकास समितिका सचिव हुमबहादुर गुरुङले सहभागी टोलीमा पुरुषतर्फ जुन पालिकाको टोली हो सोही पालिकाका मात्र खेलाडी सहभागी गराउनुपर्ने भए पनि महिलातर्फ पालिकाबाहिरका एकजना खेलाडी टोलीमा राख्न पाइने जानकारी दिए।