महालक्ष्मी विकास बैंकले ग्लोबल मनी विक–२०२६ मनाएको छ । बैंकले वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी देशभरका शाखा तथा प्रादेशिक कार्यालयमार्फत साताव्यापी वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रम गरेको हो ।
बैंकका अनुसार विद्यार्थी तथा युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप र मनोवृत्ति विकासका लागि कार्यक्रम गरिएको हो । दरबारमार्ग, हेटौँडा, इटहरी, भैरहवा, विजयपुर पोखरा, वीरगन्ज, धनगढी, सूर्यपुरा, डडेलधुरा, लाहान, बिचबजार, मंगलसेन, चिप्लेढुंगालगायतका विभिन्न शाखा कार्यालय तथा प्रादेशिक कार्यालयले कार्यक्रम गरेका हुन् । ‘स्मार्ट मनी टक्स’ नारासहित देशभरि आयोजना गरिएको कार्यक्रममा एक हजारजनाभन्दा बढीको सहभागिता थियो ।
जहाँ बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवा, विप्रेषण, गुनासो सुनुवाइ, वित्तीय सेवाप्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बिमा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुबारे जानकारी गराइएको थियो । यसै, अवसरमा बैंकको नेपालगन्ज शाखाले श्री युद्ध संस्कृत माध्यमिक विद्यालय, नेपालगन्ज, बाँकेमा अध्ययनरत विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्रीसमेत वितरण गरेको छ ।