राजनीतिक नियुक्तिलाई लिएर सुदूरपश्चिम एमालेमा किचलो

दलका नेताको कार्यशैलीमाथि प्रश्न उठाउँदै एमाले प्रदेश कमिटीले केन्द्रलाई पठायो पत्र

सोमबार, ९ चैत, २०८२
डिजिटल संस्करण

एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलको भूमिकालाई लिएर पार्टीभित्र विवाद देखिएको छ । नेता रावलले प्रदेश सरकारलाई एमालेबाट राजनीतिक नियुक्तिको सिफारिस गर्दा संसदीय दल र पार्टीमा परामर्श नगरेको, पार्टी विधानअनुसार नचलेको भन्दै एमाले प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई पत्राचार नै गरेको छ ।

प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसीले पार्टी केन्द्रलाई पत्र पठाउँदै दलका नेता रावललाई पार्टी विधानअनुसार चल्नका लागि सचेत गराउन आग्रह गरेका छन् । अध्यक्ष जैसीले पटक–पटक छलफल र सचेत गराउँदा पनि नेता रावलले कार्यशैली सुधार नगरेपछि पार्टी केन्द्रलाई पत्राचार गरिएको बताए ।‘संसद्का समितिमा सदस्य नियुक्तिदेखि राजनीतिक नियुक्तिहरूमा पार्टी र संसदीय दलसँग पनि समन्वय भएन,’ उनले भने, ‘उहाँले पार्टीसँग सल्लाह गर्ने र संसदीय दलमा सबैलाई विश्वासमा लिएर काम गर्न नसकेपछि यी विषयहरू उल्लेख गरेर केन्द्रलाई पत्र पठाएका हौँ ।’

दलको नेता पार्टी र जनताको भावनाअनुसार चल्न नसक्दा यसले पार्टीप्रति जनआक्रोश बढ्नेतर्फ सचेत हुनुपर्ने केन्द्रलाई पठाइएको पत्रमा उल्लेख गरेको उनले बताए । नेता रावलले मनोमानी रूपमा नियुक्तिहरू गरेको र समन्वय नगरेको भन्दै एमालेकै भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले प्रदेश सभामा एमाले संसदीय कार्यालयस्थित नेता रावलको कार्यकक्षमा आइतबार तालाबन्दी गरेका छन् । युवा संघको कञ्चनपुर कृष्णपुर नगर कमिटीले पूर्वमुख्यमन्त्रीसमेत रहेका रावलको कार्यकक्षमा केहीबेर तालाबन्दी गरेको हो । 

प्रदेशमा कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमाले र कांग्रेसबिच प्रदेशमातहतका अस्पताल व्यवस्थापन समितिलगायतमा राजनीतिक नियुक्ति भागबन्डाका आधारमा हुने गरेको छ । सामाजिक विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट गत साता सेती, लम्कीचुहा र जोगबुडा अस्पतालमा कांग्रेसको भागबन्डामा पदाधिकारी नियुक्त गरिएका थिए । महाकाली प्रादेशिक अस्पतालमा एमालेका तर्फबाट नियुक्त गरिएका थिए । पार्टीको भागमा परेका अस्पताल व्यवस्थापनलगायत हालै गरिएका नियुक्तिमा नेता रावलले पार्टी र दलमा छलफल नगरेको एमाले प्रदेश कमिटीले जनाएको छ । एमाले प्रदेश अध्यक्ष जैसीले राजनीतिक नियुक्तिहरू दुवै दलको छलफल र विश्वासका आधारमा गर्न आग्रह गर्दै मुख्यमन्त्री कमलबहादुर शाहलाई समेत गत साता पत्र पठाएका छन् ।

सुझावित समाचार