नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल स्वच्छ खानेपानी अभियान’को शुभारम्भ गरेको छ। बैंकका अध्यक्ष निर्वाण चौधरीले १२३ वटा विद्यालयमा आइतबार डिजिटल माध्यमबाट अभियान शुभारम्भ गरेका हुन्।
चौधरीले उक्त अभियानले विद्यालयमा अध्ययनरत बालबालिकामा शुद्ध खानेपानी उपलब्ध गराउँदै बालबालिकालाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गरेको बताए। ‘यो परियोजना सञ्चालन गर्न पाउँदा हामीलाई गर्व छ, आगामी दिनमा यस अभियानलाई अझ प्रभावकारी रूपमा सञ्चालन र विस्तार गरिनेछ,’ उनले भने।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु भएको उक्त अभियान विद्यार्थीको स्वास्थ सुधार, सरसफाइ प्रवर्द्धन र खानेपानीको दिगो पहुँच सुनिश्चित गर्नमा केन्द्रित रहेको बैंकले जनाएको छ। बैंकले सरकारी र सामुदायिक विद्यालयमा शुद्ध खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको हो।
यो अभियान मुलुकका सातवटै प्रदेशमा सञ्चालन गरिएको छ। बैंकका अनुसार अभियानअन्तर्गत हालसम्म कोशी प्रदेशका आठ, मधेश प्रदेशका १६, बागमती प्रदेशका नौ, गण्डकी प्रदेशका १०, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशका १५ र सुदूरपश्चिम प्रदेशका २९ वटा विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ। यो अभियानमा स्मार्ट पानीको प्राविधिक सहयोग रहेको जनाइएको छ।