वित्तीय साक्षरता कार्यक्रम प्रदान गर्न धनकुटामा प्रभातफेरी निकालेको छ । माछापुच्छ्रे बैंकले धनकुटा शाखाको अगुवाइमा बैंक तथा वित्तीय संस्थाले चौधौँ ग्लोबल मनी सप्ताहअन्तर्गत प्रभातफेरी निकालिएको हो ।
धनकुटा बसपार्कबाट सुरु भएको प्रभातफेरी र्याली मदनचोक, परिचयमोड, भीमसेनथान हुँदै भीमनारायण चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । पिन, पासवर्ड र ओपिटी गोप्य राखौँ, आजको बचत भोलिको सुरक्षित भविष्य, आम्दानी–परियोजनाअनुसार ऋण लिऔँ, समयमै किस्ता तिरौँलगायतका नारा लेखिएका प्लेकार्डसहित प्रभातफेरी निकालिएको थियो ।
कोणसभामा बोल्दै माछापुच्छ्रे बैंक धनकुटाका शाखा प्रमुख होमराज अधिकारीले धनकुटा नगरवासीलाई वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको बताए ।
विभिन्न बैँक वा वित्तीय संस्थाबाट अवैध रूपमा पैसा प्राप्त गर्न आपराधिक क्रियाकलाप हुने गरेकाले सबै सेवाग्राही सतर्क रहन पनि शाखा प्रमुख अधिकारीले आग्रह गरे । प्रभातफेरी कार्यक्रममा धनकुटा बजारमा सञ्चालनमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।