मानवसेवा आश्रमलाई नबिल बैंकको अटो सहयोग

आइतबार, ८ चैत, २०८२
डिजिटल संस्करण

नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवावाहन (अटो) हस्तान्तरण गरेको छ । आश्रममा शुक्रबार आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले उक्त सेवावाहन आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो । 

आश्रमका अभिभावक पवन सिंघानियाले आश्रमको सेवाप्रवाह तथा दैनिक कार्य गर्न कठिनाइ भइरहेको अवस्थामा बैंकबाट प्राप्त सेवावाहनका कारण थप सहज हुनेमा विश्वास व्यक्त गरे । बैंकका सिइओ ज्ञवालीले सडकआश्रित मानवहरूको उचित व्यवस्थापनका लागि आश्रमले गरेको कार्य सराहनीय भएको बताए । 

उनले मानवजातिको सेवा र हितसँग जोडिएका हरेक काम गर्न बैंक सधैँ तयार रहेको उल्लेख गर्दै मानवसेवा आश्रमलाई सहयोग गर्न पाउनु समाजप्रतिको दायित्व वहन गर्नुजस्तै भएकाले भविष्यमा पनि यस्ता कार्यका लागि साझेदारी गर्न बैंक तयार रहेको धारणा राखे । मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले अटोको अभावमा जनकपुरमा रहेको आश्रममा दैनिक कार्य गर्न तथा लक्षित मानवलाई सेवा दिन कठिन भइरहेको अनुभव सुनाए । यस्तो अवस्थामा नबिल बैंकद्वारा सहयोगस्वरूप प्राप्त सेवावाहनबाट उक्त सेवालाई सहज र शीघ्र बनाउन सहयोग पुग्ने उनले बताए । 

‘सडक आश्रित मानवको उद्धार तथा आश्रममा दिने दैनिक सेवा तथा सहयोगमा समस्या बेहोरिरहेका थियौं । अटो प्राप्त भएपछि यो सेवालाई सहज बनाउन सकिने विश्वास लिएका छौं । यस पुण्य कार्यका लागि नबिल बैंकप्रति हामी आभारी छौं,’ उनले भने । नबिल बैंकले यसअघि पनि मानवसेवा आश्रमलाई दुईवटा उद्धार वाहन उपलब्ध गराएको थियो । बैंकले ‘नबिल एसएसई’मार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजना मार्फत दिगो विकासमा योगदान पुर्याउँदै आएको छ । 

सुझावित समाचार