कस्मेटिक व्यवसायी संघको १३औँ वार्षिकोत्सव सम्पन्न

प्राकृतिक स्रोतको उपयोग गरी कस्मेटिक उद्योगलाई आत्मनिर्भर बनाउन जोड

आइतबार, ८ चैत, २०८२
डिजिटल संस्करण

नेपाल कस्मेटिक व्यवसायी संघको १३औँ वार्षिकोत्सव तथा ‘सौन्दर्य उद्योगको दिगो यात्रा’ विषयक कस्मेटिक स्मारिका २०८२ विमोचन गरिएको छ । 

कार्यक्रममा वक्ताहरूले नेपालमा पाइने बहुमूल्य जडीबुटी तथा प्राकृतिक स्रोतहरूको उपयोग गरी कस्मेटिक उद्योगलाई आत्मनिर्भर र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सकिनेमा जोड दिएका छन् । उनीहरूले कच्चा पदार्थ निर्यात गरेर मात्र सीमित रहने पुरानो प्रवृत्ति अन्त्य गर्दै अब नेपालले तयारी वस्तु उत्पादन गरी निर्यात गर्ने दिशामा अघि बढ्नुपर्ने धारणा राखे ।

कार्यक्रममा आर्थिक वर्ष ०८१/८२ को आय–व्यय विवरण पनि प्रस्तुत गरिएको थियो । संघले आफ्नो गतिविधि, उपलब्धि र भावी योजनाबारे जानकारी गराउँदै कस्मेटिक क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय र विश्वसनीय बनाउन प्रतिबद्धता व्यक्त गरेको छ । 

कार्यक्रम समापनका क्रममा वक्ताहरूले सरकार र निजी क्षेत्रबिच सहकार्य बढाउँदै नीति, लगानी र प्रविधिको उचित संयोजनमार्फत नेपाली उद्योगलाई सशक्त बनाउने समय आएको बताएका थिए ।

कार्यक्रमले सौन्दर्य उद्योगको दिगो विकासका लागि साझा प्रतिबद्धता व्यक्त गर्दै ‘नेपालमै उत्पादन, नेपालमै प्रयोग र विश्वबजारमा निर्यात’ भन्ने सोचलाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने सन्देश दिएको छ ।

सुझावित समाचार