धनकुटाको सहिदभूमि गाउँपालिका–३, ढोडेस्थित भित्री सडकखण्डमा आज दिउँसो पिकअप गाडी दुर्घटना हुँदा चारजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। सहिदभूमि गाउँपालिका–३ ,गुर्धुमबाट पञ्चकन्यातर्फ जाँदै गरेको को १ ज २२९५ नम्बरको पिकअप आज दिउँसो २ बजे आफैँ अनियन्त्रित भई सडकबाट दुई सय मिटर तल खसेको थियो।
उक्त दुर्घटनामा परी गाडीचालक सहिदभूमि गाउँपालिका–१ का २१ वर्षीय पूर्ण राई, सोही स्थानका ३५ वर्षीय मीना तामाङ, १६ वर्षीय अमित राई र १६ वर्षीय अबिन राई घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। घाइतेमध्ये गाडीचालक पूर्ण राई गम्भीर घाइते भएका छन्।
उनको टाउकोमा गहिरो चोट लागेको छ भने शरीरको अन्यमा भागमा पनि चोट लागेको प्रहरीले बताएको छ। उनको जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले बताएको छ।